प्रस, वीरगंज, ३० फागुन/
आदर्शनगर रङ्गशालामा मङ्गलवारदेखि नेपाल–भारत मैत्री महिला, पुरुष क्रिकेट प्रतियोगिता शुरू भएको छ ।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले प्रतियोगिताको उद्घाटन गर्दै नेपाल–भारतबीचको सम्बन्ध अझै प्रगाढ बनाउन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले अनुशासित भएर प्रतियोगिता सम्पन्न गर्न खेलाडीहरूलाई आग्रह गरे । खेलमा हारजित सामान्य प्रक्रिया भएको र यसैलाई लिएर अनुशासन तोड्न नहुने बताए । उनले खेलको पहिलो सिखाइ नै अनुशासन भएको र जुन खेलाडीमा अनुशासन हुन्छ, उसैले भविष्यमा प्रगति गर्ने बताए ।
प्रतियोगिता आउँदो चैत ४ गतेसम्म सञ्चालन हुने र नेपाल र भारतका विभिन्न नौवटा महिला र पुरुष टीमको सहभागिता रहेको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ताले बताए ।
प्रतियोगितामा भारतको झारखण्ड, राजस्थान, उत्तर प्रदेश र जम्मु– कश्मीरका टीम वीरगंज आइपुगेका छन् । यसैगरी, प्रतियोगितामा वीरगंजका पिएसी छपकैया, अशोकवाटिका, मुर्ली सहभागी छन् । महिलातर्फ भारकबाट जम्मु–कश्मीर, उत्तर प्रदेश, राजस्थान र नेपालबाट बाराको कलैया टीम सहभागी छन् ।
आज उद्घाटन भएको दिन दुईवटा खेल भएको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ताले बताए । पहिलो खेलमा भारतको झारखण्डले आयोजक पशुपति आदर्श क्लबलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित १५ ओभरको खेलमा सबै विकेट गुमाएर ९३ रन बनाएको थियो ।
प्रतिउत्तरमा झारखण्डले १२ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य हासिल गरेको थियो । यसैगरी, दोस्रो खेलमा मुर्ली, वीरगंजले जम्मु–कश्मीरलाई छ विकेट अन्तरले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको जम्मु–कश्मीरले निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर ६३ रनमा सीमित भयो ।
मुर्ली, वीरगंजले भने १३ ओभरमा छ विकेट गुमाएर लक्ष्य हासिल गर्यो । भोलि बुधवार चार खेल हुने र पर्सि चैत २ गतेदेखि समापन अवधि ४ गतेसम्म महिला क्रिकेट प्रतियोगिता पनि हुने आयोजक क्लबका अध्यक्ष गुप्ताले बताए ।