विज्ञान शिक्षणबारे विमर्श

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

  • सरोजराज गोसाई

नेपालमा माध्यमिक विद्यालयको पाठ्यक्रममा विज्ञान विषयलाई अनिवार्य विषयमा राखिएको छ । यसले हाम्रो समाजमा वैज्ञानिक चिन्तन, संस्कार र संस्कृति निर्माणमा के कति योगदान पुर्याएको छ भन्ने विषय अनुसन्धात्मक छ । हाम्रा कति परम्परागत ज्ञान, सीप र संस्कृतिलाई आधुनिक विज्ञानको तुलोमा हाल्दा हाम्रा पुर्खाहरूले नतमस्तक बनाइदिएको भन्दा अत्युक्ति नहोला । आधुनिक विज्ञान र प्रविधिको विकास नभइसकेको सयौं वर्ष अगाडि बनेको चाँगुनारायण मन्दिर, पाँच तले मन्दिर, काष्ठमण्डप, कृष्ण मन्दिरले आधुनिक ज्ञानबाट सिद्धि प्राप्त भनिएका प्राविधिकलाई पनि चुनौती दिइरहेको सन्दर्भमा विज्ञान प्रविधिको विकासको आधारको रूपमा रहेको विद्यालय शिक्षामा विज्ञानको आधुनिक सिद्धान्त पढाउनु विज्ञान शिक्षकको चुनौती हो ।

नेपालको विज्ञान–प्रविधि शासकहरूको मनोमालिन्यको कोपभाजन हुँदा वा जनताको जीविकासँग शिक्षालाई नजोडिंदा अथवा भनौं शिक्षालाई काम र मामसँग जोड्न नखोजिंदा, अझ भनौं शिक्षालाई उत्पादन श्रमसँग नजोडिंदा विज्ञान–प्रविधिको समयोचित विकास हुन पाएन । विज्ञान–प्रविधि पनि जातविशेषमा सीमित गरिंदा विविध कारणले त्यस जातको लोपसँगै हाम्रो अमूल्य ज्ञानको निधि हराउँदै गएको तथ्य पनि उत्तिकै विश्लेषणीय छ । स्थान, समय र परिवेश अनुसारको प्रविधि विकासको निम्ति विज्ञान विषयको शिक्षण हुनुपथ्र्यो । शिक्षणमा प्रयोगात्मक, अनुसन्धानात्मक एवं खोजमूलक तरीका अपनाइएको भए विज्ञान उत्पादनमुखी बन्ने थियो ।

विज्ञान शिक्षालाई उत्पादनमुखी बनाउने काइदा के होला ?

दही, घ्यू, कुराउनी, चीज र महीबीचको सम्बन्ध र विज्ञान विद्यार्थीको अध्ययन र खोजको विषय हुन सक्छ । जाँड, रक्सी र मर्चाबीचको सम्बन्ध र उत्पादनमा प्रयोग भएको विज्ञान र प्रविधि, कालो माटो, रातो माटो, कमेरो माटो, पाँगो माटोको प्रयोग र त्यसमा अन्तर्निहित विज्ञान, धानको ब्याडदेखि फसल काट्दासम्मको विज्ञान; गहुँबाट पीठो बनाउँदा चाहिने प्रविधि समेत पाठ्यक्रममा संलग्न हुनुपर्यो । सयौं वर्षदेखि प्रयोगमा आइरहेको पानीघट्टलाई अझ परिमार्जन गर्न विद्यार्थीलाई अनुसन्धान गराउने हो भने विज्ञान पढाइको औचित्य राम्रै पुष्टि हुन्थ्यो । दही बनाउन दूध उमाल्न प्रयोग गरिने ग्याँस वा दाउराको विकल्पबारे अनुसन्धान विद्यार्थीले गरोस् । हाम्रो वरिपरि सयौं थरीका फल फल्छन् । फलका विशेषज्ञ वनमाली जातिका दिदीबहिनी हाम्रा गुरु हुन सक्छन्, धातु विज्ञान पढ्न–पढाउन ताम्राकार, ढुङ्गाको विज्ञान पढाउन शिलाकार, काठका प्रकारबारे कक्षा चलाउन शिल्पकार, माटोका जात भन्न प्रजापति, रङ्गको कला बताउन रञ्जीतकार, रङ्ग र चित्रबारे बयान लगाउन चित्रकारलाई हाम्रा कक्षाकोठामा ल्याउन सकिन्छ ।

कुखुरापालन गर्ने किसानसँगको व्यावहारिक ज्ञान, खोलाले खेत नबगाओस् भनी लगाइने वैंशको रूखको विज्ञान, घोड्टाप्ले, टिमुर, बोझो, तुलसी, हर्रो, बर्रो र अमलाको औषधीय गुणवत्ताको ज्ञानलाई हाम्रो विद्यालय शिक्षामा प्रवेश गराउने हो भने हाम्रो परम्परागत सीप र प्रविधिले जीवन पाउने मात्र होइन, पुरानो पुस्ताबाट नयाँ पुस्ताले सिक्ने विचारले पनि मूर्त रूप लिन्थ्यो । बिस्केट जात्रामा दुर्ईतिरबाट सयौं मानिसले तान्दा कैयौंपटक उचालिने र थचारिने, कोल्टो पर्ने, ढल्ला–ढल्ला हुने तर सामान्यतः दुरुस्तै रहने तीनतले भैरवको रथको विज्ञान पढ्ने अवसर चाहियो । परम्परागत ज्ञान र प्रविधिमा अन्तर्निहित विज्ञानको अनुसन्धान हाम्रो पाठ्यक्रमको अभिन्न अङ्ग बनाइएको खण्डमा पुर्खाले पनि सम्मानित एवं गौरवान्वित अनुभूत गर्थे । स्थानीय प्रविधिको अध्ययन गरी तिनमा वैज्ञानिक सिद्धान्तको लेपनमा, सुधारिएको प्रविधि वा नयाँ प्रविधिको विकास गर्न सकिन्छ । हाम्रो विज्ञान शिक्षाले स्थानीय ज्ञानलाई आत्मसात् नगर्दा र पश्चिमा लेखकले लेखेकै पुस्तकको आधारमा लेखिएका किताब विद्यार्थीका पाठ्यपुस्तक बन्दा हाम्रा विद्यार्थी विज्ञान बुझ्न थकथकी महसूस गर्छन् । सुनेर मात्र पुग्दैन हेर्नुपर्ने, हेरेर मात्र पुग्दैन गर्नुपर्ने विज्ञान शिक्षणको आधारभूत सिद्धान्त मान्ने हो भने विज्ञान शिक्षणलाई जनजीवनसँग जोड्ने वा व्यावहारिक जीवनसँग जोड्ने काइदाबारे अझ विहङ्गावलोकन गर्नु जरुरी छ । हामीले विद्यार्थीलाई आलोचनात्मक बनाउन सक्यौं या सकेनौं, निरीक्षण, अध्ययन र छलफल गर्ने, तथ्य एवं प्रमाणको आधारमा निष्कर्ष निकाल्ने, अरूले प्रस्तुत गरेको प्रमाणमाथि पनि आलोचनात्मक दृष्टिकोण राख्ने, प्राप्त संरचनामाथि पनि प्रश्न गर्ने, सतही होइन सही तथ्यमा जोड दिने विद्यार्थी तयार पार्न के गर्नु पर्ला छलफल गरौं । हरेक नयाँ सिद्धान्त आत्मसात् गर्न दिमागलाई सदा खुला राख्ने वा नयाँ कुरा सिक्न जिज्ञासु बनाउने कसरी ? अरूको कुरा ध्यानपूर्वक सुन्ने, अरूको अधिकारको सम्मान गर्ने, अरूले आफ्नो विचारबारे बोलेको कुरालाई मन दिएर सुन्ने, नयाँ तथ्यको आधारमा नयाँ निष्कर्ष निकाल्ने खुला दिमागका विद्यार्थी तयार कसरी पार्ने ? जिज्ञासुले प्राकृतिक घटना एवं परिघटनालाई सम्पूर्ण ज्ञानेन्द्रिय लगाएर निरीक्षण गर्छ, प्रश्न गर्छ, प्रयोगात्मक क्रियाकलापमा भाग लिन्छ, आफैं विभिन्न प्रयोग गर्न उत्सुक हुन्छ, वस्तु र घटनालाई गौरले निरीक्षण गर्छ, सुनेको र पढेको कुरामा पनि शङ्का गर्छ अथवा आलोचनात्मक दृष्टिकोण राख्छ, आफ्नो वरपर भएका घटनाबारे चासो दिन्छ, थप जानकारीको निम्ति अध्ययन गर्छ । हाम्रा विद्यार्थी कति जिज्ञासु छन् ? यो आत्ममूल्याङ्कनको आधार पनि बन्न सक्छ ।

आफैंलाई मूल्याङ्कन गरौं

सिर्जनशील व्यक्ति बनाउने उद्देश्यमा हामी कति पानीमा छौं ? नयाँ विचार सिर्जना गर्ने, हरेक समस्या समाधानमा अनेक उपाय खोज्ने, अवलोकनबाट राम्रो निष्कर्ष निकाल्ने सिर्जनशील व्यक्ति बनाउँदा कसो होला ? चिन्तन गरौं । कुनै घटनाको कारण र परिणामबारे गम्भीर विवेचना गर्ने, प्राप्त तथ्याङ्कलाई इमानदारीपूर्वक अभिलेखमा राख्ने, आफ्नो कामको जिम्मेवारी बोध गर्ने विद्यार्थी चाहिन्छ । हामीलाई, गर्ने के ? असफल प्रयोगपछि पनि हतास र निराश नहुने, कुनै नयाँ उपकरण चलाउन उत्प्रेरित हुने, नतीजा नआएसम्म विषयमा लागिरहने, व्यक्तिगतरूपमा असजिलो वातावरण भएपनि काममा निरन्तर लाग्ने दृढ व्यक्ति तयार पार्ने काम पनि कम्ता चुनौतीपूर्ण छैन । तथ्य विज्ञानको मुटु हो । कुनै विषयमा उत्तर पत्ता लगाउन वैज्ञानिक विधिको प्रयोग गरी तथ्य पत्ता लगाइन्छ । विज्ञानका विद्यार्थीले हरेक प्रश्न, समस्या वा वातावरणको विश्लेषण गर्छ, सबै तथ्यलाई हृदयङ्गम नगरेसम्म फैसला गर्दैन, उही परिस्थितिमा उस्तै परिणाम आउँछ–आउँदैन हेर्छ, प्राप्त परिणामको विश्लेषण पूर्वाग्रह नराखी गर्छ । हामी विज्ञानका शिक्षक र विद्यार्थी कहाँ छौं ? आत्ममूल्याङ्कन गरौं ।

कसरी पढाउनुपर्ला विज्ञान ?

प्रयोगविना विज्ञान बुझिन्न तर विडम्बना, हामी कालोपाटीमैं पानी उमाल्छौं र वाफ उडाउँछौं । गरेर सिक्ने सिद्धान्त छ, तर व्यवहारमा छैन । सिद्धान्तलाई व्यवहारसँग जोडौं, विज्ञान सजिलो बन्छ । प्रयोग विधिबाट सिक्नुको अर्थ समस्याको उत्तर खोज्नु, समस्याको समाधान खोज्नु, विधिपूर्वक काम गर्नु हो । अनुसन्धानको अर्थ के खोजेको हो कुरा लेख्नु, सम्भावित अनुमान (हाइपोथेसिस)का कुरा लेख्नु, तथ्यहरू बटुल्नु र अरू प्रमाण खोज्नु, सम्भावित अनुमानको परीक्षण गर्नु र निष्कर्षमा पुग्नु हो । यही हो, वैज्ञानिक विधि । कुनै प्रयोगात्मक कक्षाअघि के गर्न खोजिएको विद्यार्थीले बुझोस्, विद्यार्थी–शिक्षक मिलेरै के गर्ने भन्ने निर्णय निकालियोेस्, प्रयोग गर्नुअघि नै उत्तर वा निष्कर्ष नदिइयोस् (नत्र जिज्ञासा नै हुन्न), सजिलै उपलब्ध हुने प्रयोगात्मक सामग्री होस्, प्रयोग गर्ने विधिबारे पूर्वजानकारी दिइयोस्, विद्यार्थीलाई नै सोच्न दिइयोस्, निष्कर्ष निकाल्नुअघि दुर्ईपटक सोच्ने बनाइयोस् । तब प्रयोगात्मक विधि सफल बन्छ ।

के दिने प्रयोगको निम्ति ?

बिरुवाको हुर्काइमा मलको असर हेर्न देऔं वा कुन वातावरणमा ढुसी उम्रिन्छ भन्ने हेरौं वा पानी उम्लिने तापक्रम पत्ता लगाउन देऔं वा कुन कुन रङ्ग मिसाउँदा कुन रङ्ग निस्किन्छ भन्ने हेर्न देऔं । कोठामैं चना रोपौं, प्रत्येक हप्ताको परिवर्तन लेख्न देऔं, मैन कति डिग्रीमा पग्लिन्छ, पानी कति डिग्रीमा उम्लिन्छ हेर्न देऔं ।

प्रदर्शन विधि पनि अपनाइन्छ, विज्ञान शिक्षणमा । सिपालु हातले मात्र चलाउने यन्त्रबारे प्रदर्शन विधि नअपनाएर सुखै छैन । प्रावि वा निमावि तहका विद्यार्थीको निम्ति प्रयोगशालामा ग्याँस बनाउने विधि होस् वा प्याजको झिल्लीको स्लाइड बनाइ माइक्रोस्कोपमा मिलाएर हेर्ने विधि होस्, गरेर देखाउनुपर्ने हुन सक्छ ।

इन्टरनेटका सामग्री, पाठ्यपुस्तक, सन्दर्भ पुस्तक, प्रयोगशाला निर्देशिका, विज्ञान पत्रिकालगायत सामग्री पढ्न देऔं । यी सामग्रीको अध्ययनले कक्षा छलफलमा सहयोग गर्छ, विज्ञानको शब्दभण्डार पनि बढाउँछ, पढ्नु पनि रमाइलो भन्ने अनुभव गराउँछ, ज्ञानको दायरा फराकिलो बनाउँछ, अझ धेरै सिकौं–सिकौं बनाउँछ, आफ्नो ज्ञान र सिकाइलाई जोड्न मदत गर्छ । तर विद्यार्थीलाई पुस्तकको सूचीपत्र, इन्डेक्स र ग्लोसरी हेर्ने काइदा सिकाउनु जरुरी छ । विज्ञानको छुट्टै शब्दकोशको प्रयोगबारे पनि सुझाव दिनु उचित हुन्छ । पढाइपछि छलफल वा अन्तत्र्रिmया गर्ने वा बोल्न दिने वा सार लेख्न दिने गर्दा पनि प्रभावकारी होला । गार्हो मानिएको पाठको पढाइको निम्ति विद्यार्थी स्वयंलाई सन्दर्भ सामग्री खोज्न दिनु र छलफल गर्न दिनु उपयुक्त छ । स्थलगत भ्रमण विधि पनि प्रभावकारी छ । विद्यालयको कोठाबाहिर गएर प्राकृतिक वातावरणमा सिक्ने विधि । प्रत्यक्ष अनुभव गराउने विधिले रमाइलोमैं विज्ञान सिकाउँछ । आरनमा कसरी फलाम तताइन्छ भन्ने बुन्न कामीको कार्यशाला लानुपर्ला, पानीमा पाइने बिरुवाबारे थाहा दिन पोखरी वा ताल वा पानी जमेको खाल्डो वा खोला लानुपर्ला । कालो टोपी बनाइने कारखाना वा दही बनाइने उद्योग वा रेशमखेती वा च्याउखेती फार्म हेरेर सिक्छन्, जानकारी अनुभूतिमा बदलिन्छ । भ्रमणमा विद्यार्थी लानुअघि शिक्षक आफैं पुगेर बुझ्नु राम्रो हुन्छ, पुग्ने ठाउँ प्रवेशको अनुमति लिनुपर्ला, विद्यार्थीलाई आवश्यक तयारी गराउनुपर्ला, समूह बनाउनुपर्ला, विद्यार्थीबीच आपसी सहयोग संस्कारबारे पूर्वजानकारी दिनुपर्ला । छलफल विधिले विद्यार्थी आफ्नो बुझाइ बाँड्ने मौका पाउँछन् । गोष्ठी, वादविवाद, प्रश्नोत्तर वा अन्तर्वार्ता गर्न लगाऔं । यसबाट विद्यार्थीको विषयवस्तुमा मात्रै होइन प्रस्तुतिशैली पनि विकास हुन्छ, विद्यार्थी र शिक्षकबीचको मात्र होइन, विद्यार्थी–विद्यार्थीबीचको सम्बन्ध कसिलो बनाउँछ, अरूको कुरा सुन्ने धैर्य विकास गराउँछ । विद्यार्थीलाई स्वतन्त्ररूपमा बोल्ने मौका देऔं, यसले मौलिक विचार निर्माणमा समेत सहयोग पुर्याउनेछ । विज्ञान शिक्षणमा श्रव्यदृश्यको सहयोग पनि प्रभावकारी हुन्छ । समुद्री जनावरबारे सिकाउन विद्यार्थीलाई समुद्र पुर्याउने अरू उपाय सजिलो छैन । जति मात्रामा आवाज र दृश्यले वास्तविकता बुझ्न सहज बनाउँछ । कुनै विषयमा राम्रो ज्ञान प्राप्त व्यक्ति कक्षामा ल्याएर सिकाउने विधि पनि प्रभावकारी छ । कक्षामा भेट्ने व्यवस्था गा¥हो भए सम्बन्धित व्यक्तिसम्मै विद्यार्थीलाई लिएर जाने वातावरण मिलाउन सकिन्छ । औषधि उपचार गर्ने चिकित्सक होस् वा फोटोग्राफर वा सङ्गीतकार वा सिकर्मी वा डकर्मी, कोहीसँग साक्षात्कार गर्ने अवसरले विद्यार्थीमा गहिरो ज्ञान हासिल गर्ने बानी बसाउँछ । विज्ञानको सिकाइमा प्राकृतिक जीव वा वस्तुको सङ्कलन कामले तिनी पाइने ठाउँ, तिनको प्राकृतिक संरचना वा बानी व्यवहार सिकाउँछ । फुर्सतको समयको उपयोग गर्दै सङ्कलन गरिएका सामग्री स्वयम् विद्यार्थीको म्युजियम बन्छ ।

निष्कर्ष

अधिकांश विद्यार्थीको निम्ति विज्ञान घोक्ने र परीक्षा उत्तीर्ण गर्नेको निम्ति जबरजस्ती पढ्ने विषय भइरहेको अवस्थामा र कुनै धार्मिक प्रवचन शैलीमा पढाउने चलन नहटिसकेको बेलामा बुझेर पढ्ने र बुझेर लेख्ने विषय बनाउने केही काइदो माथि छलफल गरियोस् । कसैले साइकल चढेको हेरेर कोही साइकल सिक्दैन वा पानीमा नगई पौडी खेल्ने सपनामा मात्र हो भन्ने बुझ्ने हामी शिक्षकलाई इशारा नै बढी छ । हाम्रो विज्ञान पढाइ हाम्रो वातावरण, संस्कृति, भूपरिस्थिति र आवश्यकता अनुकूल हुनुपर्नेमा विवाद नहोला ।

 (लेखक ख्वप कलेज, प्राणीशास्त्रका उपप्राध्यापक हुन् ।)

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।