नेपालमा नै, खासगरी वीरगंजमा सार्वजनिक सरसफाइ महाभारत युद्ध जित्नुभन्दा दुष्कर देखिन्छ । सामान्य नागरिकका लागि जोसँग चेतना छैन, अनपढ छ, सरसफाइ नगरको सौन्दर्य र नागरिकको स्वास्थ्य वृद्धि तथा सुखकर हुन्छ भन्ने कुरा नबुझ्ला तर पढेलेखेका, सार्वजनिक संस्था तथा जान्ने–बुझ्नेहरूसमेत सरसफाइप्रति संवेदनशील रहँदैनन् भने लाख कोशिश गर्दा पनि शहरलाई सफा, स्वच्छ राख्न सकिंदैन । कुनै अवाञ्छित कार्य नगर्नबाट रोक्नका लागि कानून बनाउन सकिन्छ, चेतावनी दिन सकिन्छ, दण्ड–जरिवानाको प्रावधान राख्न सकिन्छ, तर संस्कारगत चेतना छैन भने यावत् प्रावधानको कुनै मूल्य रहँदैन । नेपालको टिभी स्टेशनहरू खोलेर हेर्नुस्–प्रायः च्यानलहरूमा एनआइसी एशिया बैंक सर्वोत्तम भएको विज्ञापन बजिरहेको सुनिन्छ । नेपालका सिने महानायकद्वारा बैंकको राम्रो क्रियाकलापको बखान सुनिन्छ, त्यै बैंक सार्वजनिकरूपमा फोहर गर्दा दुईपटक जरिवानामा परिसकेको कुरा कुनै पनि सभ्य समाजले शायद नै पत्याउला । यो बैंक नेपालको परम्परागत बैंकजस्तो प्रविधिविहीन बैंक होइन, यो करपोरेट बैंक हो । जसका सामान्य कर्मचारीसमेत बाबूसाहेबजस्तो जिटबुटमा देखिन्छन् ।
वीरगंजका प्रायः नागरिक आफ्नो घर सफा राख्छन् । घर सफा गर्दा निस्केको कसिङ्गर र अन्य फोहर भने सडकमा फ्याल्छन् । वीरगंज महानगरपालिकाले फोहर फाल्ने भाँडा सित्तै वितरण गरेको छ, प्रायः मानिसले त्यसलाई घरेलु सामग्री राख्ने भाँडो बनाएका छन् । पसलहरूमा पनि फोहर फाल्ने भाँडो राखिएको हुन्छ तर प्रायः उपभोक्ता पान पराग वा अन्य चीजको र्यापर फोहर फाल्ने (dust bin) भाँडोमा फाल्दैनन्, नालीमा फाल्छन् । वीरगंजका भूमिगत (कभर लगाएको) नालाबाहेक कसैमा पनि पानी बगेको कसैले देखाइदेओस् त १ किनभने साना–ठूला सबै नाली प्लास्टिकका बोतल, झोला अथवा प्लास्टिकका अन्य वस्तुले टन्न भरिएको हुन्छ । के सिल्ली, के अर्धसिल्ली र के भलाद्मी सबैले यी वस्तुहरू नालामा नै फाल्छन् । आफ्नो मुहल्ला, टोल–गल्लीका सडक र नालामा यसरी फोहर फालेर नगरपालिकाले शहरलाई सफा सुग्घर राख्न सकेन भनी यसैलाई ज्वलन्त मुद्दा बनाउने पनि तिनै व्यक्ति हुन्छन् । मानिसलाई लाग्दछ, सफा गर्ने काम त नगरपालिकाको हो, हामीसँग फोहर छ, जहाँ पनि फाल्ने हाम्रो अधिकार हो ।
एउटा टोल सुधार समितिको यस्तै विडम्बनापूर्ण कथा छ । त्यहाँका बासिन्दा सडक वा नालामा फोहर फाल्दैनन् तर के पर्खेर बस्छन् भने कुनै दिन फोहर उठाउने मानिस वा ट्याक्टर नआओस् र त्यही अत्तो थापेर सडकमा फोहर फाल्ने रहर मेट्न सकूँ । कुरा नागरिकसम्म मात्र सीमित छैन, वीरगंज महानगरपालिकाले फोहर उठाउने जिम्मा दिएको ठेकेदारका मानिसहरू स्वयं फोहर गर्न पछि पर्दैनन् । कसैले पनि बिहान सडक बढारिरहेका महिलाहरूको गतिविधि हेर्ने हो भने थाहा हुन्छ, उनीहरू सडक बढार्दा निस्केको फोहर नालीमा खसालिदिन्छन् । ठेकेदारका मानिसले त्यो फोहर मात्र बढार्छन् वा ट्याक्टरमा हाल्छन् जुन नागरिक आफैं दिन आउँछस त्यसबाहेकको फोहरसँग उसको कुनै सरोकार रहन्न । त्यो पनि छाडौं, एकपटक एउटा टोलमा फोहरको थुप्रो लाग्दा नगरपालिकाले ट्याक्टर पठायो, ट्याक्टरले त्यो फोहर उठायो तर सडकमा असरल्ल परेको खर–बिरुवा उठाउन अनुरोध गर्दा हामीलाई त्यो फोहर उठाउने निर्देश छैन भन्ने उत्तर दियो । यो हो फोहरप्रति हाम्रो संवेदना ।