प्रस, परवानीपुर, १३ कात्तिक/
कोरोना सङ्क्रमणको कारण वीरगंज भन्सारबाट सवारीसाधन र इन्धनको आयात उल्लेख्य परिमाणले घटेपछि यसको असर राजस्व असुलीमा परेको छ। वीरगंज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महीनामा सबै प्रकारका गाडी र इन्धनको आयातमा ४८ प्रतिशतले गिरावट आएको छ। वीरगंज नाकाबाट गत आर्थिक वर्ष २०७६/७७ को साउनदेखि असोजसम्ममा रु २ अर्ब २ करोड मूल्यबराबरको २ हजार ९ सय २२ वटा जीप, कार, भ्यान भित्रिएका थिए। चालू आर्थिक वर्षको ३ महीनामा रु १ अर्ब ७१ करोड मूल्यबराबरको १ हजार ५१० वटा यस्ता सवारीसाधन आयात भएको वीरगंज भन्सार कार्यालयका प्रवक्ता विमलकुमार साहले बताए। गाडी आयातमा नीतिगत कडाइ र कोरोना महामारीका कारण मागमा कमी आउँदा आयातमा असर देखिएको व्यवसायीहरूले बताएका छन्। मोटरसाइकल आयातसमेत ३७ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको असोज अन्त्यसम्ममा रु १ अर्ब ८ करोड मूल्यको २१ हजार ५० वटा मोटरसाइकल आयात भएका छन्। गत वर्षको समीक्षा अवधिमा रु २ अर्ब ७४ करोडको ३३ हजार ४२२ वटा मोटरसाइकल आयात भएको वीरगंज भन्सारको तथ्याङ्कमा उल्लेख छ। पिकअप गाडी, ट्रक, बस, मिनीबस, अटोरिक्शा, टेम्पो, ट्याक्टर, डम्परलगायत सबै खालका सवारीसाधनको आयात घटेको भन्सार प्रवक्ता साहले बताए।
चालू आर्थिक वर्षमा इन्धनको आयात पनि उल्लेख्य परिमाणले घटेको वीरगंज भन्सार कार्यालयले जनाएको छ। कोरोना महामारीका कारण यातायात तथा हवाई सेवा लामो समय ठप्प हुँदा इन्धनको आयातमा उल्लेख्य कमी आएको हो। आर्थिक वर्ष २०७६/७७ को असोजसम्ममा ४२ हजार ६ किलोलिटर हवाई इन्धन आयात भएको थियो भने चालू आर्थिक वर्षको यसै अवधिमा यो परिमाण ११ हजार २३६ किलोलिटरमा झरेको छ। त्यसैगरी, आयातमा पेट्रोल २५, डिजेल ३९ र एलपी ग्यास १५ प्रतिशतले घटेको वीरगंज भन्सारको तथ्याङ्कले देखाएको छ। वीरगंज भन्सारले गत आवको प्रथम त्रैमासिकमा ५ अर्ब ४५ करोड १९ लाख ६६ हजार मूल्य बराबरको ९२ हजार २ सय १२ केएल पेट्रोल आयात भएको थियो भने चालू आवको साउनदेखि असोजसम्म ३ अर्ब ११ करोड १४ लाख २९ हजार मूल्यबराबरको ६९ हजार ३ सय ९६ केएल पेट्रोल आयात भएको छ। यो गत आवको पहिलो तीन महीनाभन्दा २५ प्रतिशतले कम हो। त्यसैगरी, डिजेल गत आवको पहिलो तीन महीनामा ११ अर्ब २७ करोड २५ लाख १० हजार मूल्यबराबरको १ लाख ७३ हजार २० केएल आयात भएको थियो भने चालू आवको साउनदेखि असोजसम्म ४ अर्ब ९२ करोड ७५ लाख ५५ हजार मूल्यबराबरको १ लाख ५ हजार ७ सय ६८ केएल डिजेल आयात भएको छ। यो गत आवको तुलनामा चालू आवको पहिलो तीन महीनामा ३९ प्रतिशतले कमी आएको हो।
त्यसैगरी, एलपी ग्यासको आयातमा पनि १५ प्रतिशतले कमी आएको छ। गत आवको साउनदेखि असोजसम्म ३ अर्ब ९८ करोड १९ लाख ४८ हजार मूल्यबराबरको ६ करोड ६३ लाख ६ हजार २ सय ९० किलोग्राम ग्यास आयात भएको थियो भने चालू आवको पहिलो तीन महीनामा ३ अर्ब २३ करोड ८६ लाख ६६ हजार मूल्यबराबरको ५ करोड ६० लाख ७८ हजार ८ सय किलो ग्यास आयात भएको वीरगंज भन्सारले जनाएको छ।