जीतलाल श्रेष्ठ, निजगढ, १३ कात्तिक/
बाराको सुवर्ण गाउँपालिका–२ कबहीगोठ बजारनजीकै प्रहरी र स्थानीयबीच झड्प हँुदा प्रहरीले चलाएको गोली लागी १४ वर्षीय रञ्जन यादव गम्भीर घाइते भएपछि सो घटनाको विरोध भएको छ। बिहीवार दिउँसो बाराको सदरमुकाम कलैयामा जनता समाजवादी पार्टी बाराले घटनामा संलग्न प्रहरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए।
हिजो राति करीब ८ः३० बजे भारतीय मोटरसाइकलमा ल्याएको भन्सार छलीको सात बोरा प्याज प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद भएको थियो। सो विवादले उग्र रूप लिएपछि स्थानीय एक समूहले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीले चलाएको गोली यादवको टाउकोमा लागेकोले उनी गम्भीर घाइते हुन पुगेका छन्। घाइते यादवलाई राति नै वीरगंजस्थित वयोधा अस्पतालमा सफल शल्यक्रिया गरिएको बारा प्रहरीले जानकारी दिएको छ।
झड्पमा उत्रिएको आक्रोशित भीडले प्रहार गरेको ढुङ्गाले तीनजना प्रहरी घाइते भएका छन् भने प्रहरीको भ्यानसमेत तोडफोड भएको बताइएको छ। चाडबाड नजीकिंदै गर्दा पछिल्लो समय प्याजको मूल्य आकाशिएपछि सीमावर्ती क्षेत्रहरूमा भारतीय प्याजको तस्करी मौलाइरहेको छ।