प्रस, वीरगंज, १३ कात्तिक/
    वीरगंजका दुर्ई भन्सार कार्यालयले असोज महीनामा १७ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेका छन्। वीरगंज भन्सार र श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले सोबराबर राजस्व असुली गरेका हुन्। तर ठूलो रकम राजस्व असुली गर्दा पनि दुवै भन्सारले असोज महीनामा राजस्व असुली लक्ष्य भने भेटाउन सकेनन्।
    अघिल्ला वर्षहरूमा दशैं, तिहार नजीकिएपछि आयात–निर्यात व्यापार उकालो लाग्ने गरेकोमा यस वर्ष भने चाडपर्वको रौनक यहाँका दुवै भन्सार कार्यालयमा देखिएन। वीरगंज भन्सार कार्यालयले असोज महीनामा १६ अर्ब ९० करोड ६५ लाख ७१ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा १३ अर्ब ३७ करोड १५ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
    चालू आवमा असोज महीनासम्म रु ३५ अर्ब ३३ करोड ४९ लाख ९६ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा रु २९ अर्ब ७७ करोड ८३ लाख ४४ हजार राजस्व असुली गरेको छ।
    तथ्याङ्क हेर्दा मासिकभन्दा त्रैमासिक राजस्व असुलीको अवस्था सन्तोषजनक रहेको छ। तैपनि यो भन्सारले चालू आवका तीनवटै महीनामा मासिक राजस्व असुली लक्ष्य भेटाउन सकेको छैन।
    कार्यालयका सूचना अधिकृत विमल साह लकडाउन खुलेसँगै आयात–निर्यात व्यापारको अवस्था सुधारोन्मुख रहे पनि मासिक राजस्व असुली लक्ष्य भेटाउनलाई पर्याप्त नरहेको बताए। राजस्वमा योगदान गर्ने मुख्य वस्तुहरू सवारीसाधन र इन्धनको आयात क्रमशः बढ्दै गएकाले कात्तिक महीनादेखि राजस्व असुलीको अवस्थामा सुधार आउने सम्भावना रहेको उनी बताउँछन्। वीरगंज मुलुककै सर्वाधिक राजस्व सङ्कलन गर्ने भन्सार कार्यालय हो।
    यता सुक्खा बन्दरगाह भन्सार कार्यालयले असोज महीनामा रु ४ अर्ब ४६ करोड २६ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा रु ३ अर्ब ८७ करोड ९६ लाख ३९ हजार राजस्व असुली भएको छ। चालू आवमा असोज महीनासम्म रु ९ अर्ब ३७ करोड १२ लाख ४७ हजार राजस्व असुलीको लक्ष्य पाएकोमा रु ८ अर्ब २६ करोड ४४ लाख ९३ हजार राजस्व असुली भएको छ।
    कार्यालयका सूचना अधिकृत जगदीश पूर्वे लकडाउनकै कारण चालू आवमा यो नाकाबाट आयात–निर्यात व्यापार प्रभावित हुन पुगेकोले सोको असर मासिक राजस्व असुलीमा पनि पर्न गएको बताउँछन्। भारतीय रेल सञ्जालसँग जोडिएकोले तेस्रो मुलुकबाट आयात हुने वस्तु यो नाकाबाट बढी भित्रिने गरेको छ। यो नाका हुँदै विशेषगरी फलाम, मदिरा, गेंडागुडी तथा अन्य औद्योगिक कच्चा पदार्थहरू बढी आयात हुने गर्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here