प्रस, पंचगावाँ, १३ कात्तिक/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले विभिन्न चरणमा बरामद भएका ४५ थान साइकल बिक्री गरेको छ। समाचार स्रोतले जनाए अनुसार इप्रकामा लामो समयदेखि राखिएका सो साइकलहरूलाई प्रहरीले सम्बन्धित ठाउँमा नबुझाएर गैरकानूनी तरीकाबाट बिक्री गरेको हो।
इप्रकाका प्रहरी निरीक्ष्Fक राजकाजी थापाले तीन दिनअघि सो साइकललाई महुवनका एकजना साइकल मरम्मत गर्ने व्यक्तिलाई बिक्री गरेको स्रोतले जनाएको छ। प्रतिसाइकल रु १ हजारको दरले बिक्री गरेको स्रोतको दाबी छ। इप्रका पटेर्वासुगौलीमा रहेको साइकल अहिले महुवनस्थित साइकल ग्यारेजमा पुगेको छ। इप्रका पटेर्वासुगौलीका प्रनि थापासँग यसबारेमा बुझ्दा उनले ठाडै अस्वीकार गरे। साइकल बिक्री नगरेको उनको दाबी छ। प्रनि थापाले इप्रकामा अहिले ५ वटा मात्र साइकल रहेको बताए। त्यसबाहेक अन्य कुनै साइकल नभएको उनले जानकारी गराए। तर प्रतीकसँग सो कार्यालयमा थुपारिएका साइकल र अहिले महुवनको साइकल ग्यारेजमा सोही साइकलहरू रहेको तस्वीर सुरक्षित छ।
जिप्रका, पर्साका प्रवक्ता मनोजीत कुँवरले प्रहरीले बरामद गरेका सामान र पक्राउ परेका मानिसलाई सम्बन्धित कार्यालयमा पठाउने गरेको बताए। उनले बरामद सामग्रीहरू बिक्री वा लीलाम गर्ने प्रहरीलाई अधिकार नभएको र सरोकारको निकायले मात्र सो कार्य गर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here