दिनेश मिश्र, वीरगंज १८ पुस/
वीरगंज महानगरपालिका–१९ स्थित तिलावे नदीमा महानगरको फोहर फाल्न थालेपछि युवाहरूले सक्रियता देखाएर रोकेका छन् । नदी वरपरका उद्योग, कलकारखाना र सार्वजनिक स्थलबाट निस्किएका फोहर तिलावे नदी किनारमा ट्याक्टरबाट फालिंदै आइएको छ । युवाहरूले सोमवार फोहर फाल्ने ट्याक्टरलाई रोकेका थिए । उनीहरूले वीरगंज महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइसकेको र जथाभावी फोहर फाल्न निषेध गरेकोमा वडा कार्यपालिकाको लापरवाहीको कारण उद्योग, कलकारखाना र सार्वजनिक स्थानबाट निस्केका फोहरलाई वडाध्यक्ष्Fको निष्क्रियताको कारण तिलावे नदी किनारमा फालिएको भन्दै विरोध गरेका थिए ।
श्रीसिया नदी प्रदूषण नियन्त्रणको प्रयास भइरहेका बेला तिलावे नदी प्रदूषण गर्नु उपयुक्त नहुने भन्दै उनीहरूले विरोध गरेका हुन् । युवाहरूले तिलावे नदी किनारमा फोहरको डुङ्गुर देखिएपछि यसविरुद्ध अभियान सञ्चालन गरेको बताएका छन् । आफूहरूले विरोध गरेपछि परिवारका सदस्यहरूलाई दबाब दिइरहेको युवाहरूले बताए ।
नदीमा नुहाउन, पूजापाठ गर्न, खेत सिंचाइ गर्न, पशुपक्षीको तिर्खा मेटाउने तिलावे नदी किनारमा फोहर भण्डारण गरिएपछि फोहर कुहिएर नदीमा पुग्ने र त्यसले नदीको स्वच्छतालाई प्रदूषित गर्ने भन्दै स्थानीय युवाहरूले विरोध गरेका हुन् ।
कुखुरा फार्महरूबाट निस्किने फोहर, म्याद गुज्रिएका औषधि, खाद्यान्नको फोहर, उद्योगको बोइलरबाट निस्केको छाइँलगायत सार्वजनिक स्थलबाट निस्केका फोहरहरू पनि ट्याक्टरमार्फत तिलावे नदी वरपर केही महीनादेखि फालिंदै आएको स्थानीय विकास यादवले बताए । फोहरको डुङ्गुर बढेपछि युवाहरूले यसविरुद्ध सक्रियता देखाएका हुन् । तिलावे नदी आसपास फोहर फालिंदा सोको प्रदूषणले गाउँलेहरूलाई समेत असर पारेको उनले बताए । चीसोको कारण दुर्गन्ध व्यापकरूपमा नपैmलिए पनि गर्मीयाममा यसले बसिनसक्नु हुने उनले बताए । महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएपछि सोही केन्द्रमा फोहर विसर्जन गर्नुपर्नेमा उद्योग, कलकारखानाहरूले डिजेल मात्र बचाउनको लागि नदीलाई प्रदूषण गर्न लागेको युवाहरूको भनाइ छ ।
स्थानीय युवा नीरज यादव, नैमोद्दीन मियाँ, विवेक मिश्र, नीरज यादव, अनिल यादव, राकेश कम्कर, राजाराम यादव, राजु यादवले सोमवार ट्याक्टर रोक्दै वडापालिकाको लापरवाहीप्रति महानगरले चासो राखेर समस्याको समाधान गर्नुपर्ने र सो नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तिलावे नदी वीरगंज महानगरको वडा नं १७ र १९ को सीमामा पर्दछ । पूर्वपट्टि वडा नं १७ अलौं र पश्चिमपट्टि वडा नं १९ विन्ध्यवासिनी पर्छ । उनीहरूले उद्योग कलकारखानाबाट नदीमा फोहर विसर्जनका लागि वडाध्यक्षहरूलाई प्रभावित पारिएको हुन सक्ने आरोप लगाए ।
यसबारेमा वडा नं १७ अलौं अध्यक्ष सञ्जु छतकुलीले अलौंबाट निस्केको फोहोर नदीछेउ विसर्जन नगरिएको बताए । उनले तिलावे नदी किनारमा आफ्नोतर्फ फोहर फाल्न नदिएको र फालेको जानकारी पाए तुरुन्त कारबाई गर्ने बताए ।
यसैगरी वडा नं १९ विन्ध्यवासिनीका अध्यक्ष मुकेश चौरसियाले भने वडाका सार्वजनिक स्थलबाट निस्किएका फोहर मात्र नदी किनारमा फालिएको स्वीकारे । उनले आफ्नो वडाको फोहर विसर्जनमा समस्या भएको दलील दिएका छन् । जबकि महानगरले फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको दुई वर्ष बढी भइसक्यो ।
महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुद्दीन मियाँले तिलावे नदीमा फोहोर नफाल्न ट्याक्टरचालकहरूलाई निर्देशन गरिसकेको बताए । उनले महानगरपालिकाले फोहर व्यवस्थापन केन्द्र नगवामा सञ्चालनमा ल्याइसकेको हुँदा सो ठाउँबाहेक अन्यत्र फोहर फाल्ने चालकहरूलाई कारबाई हुने बताए ।