प्रस, सेढवा, ५ कात्तिक/
    नेपालीजनको महान् पर्व बडादशैं मनाउन सबैजनाले तयारी गरिरहेका बेला पर्साका जीराभवानी गाउँपालिकाका शिक्षकहरू भने आन्दोलित भएका छन्।
    उनीहरूले चौमासिक तलबसमेत नपाएको भनेर बुधवार जीराभवानी गापा–३ बितो महतो जनता मावि जीतपुर नौकाटोलामा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन्। पत्रकार सम्मेलनमा सहभागी नेपाल शिक्षक महासङ्घ, जीराभवानीका सचिव रामबालक चौधरी, दिनानाथ महतो, प्रधानाध्यापक रामाशङ्कर चौधरीलगायत सहभागीहरूले गापाले शिक्षकहरूको चौमासिक तलब नदिउन्जेलसम्म आदेश अवज्ञा गर्ने बताए।
    नेपाल शिक्षक महासङ्घका अध्यक्ष कृपासिन्धु पटवारीले कात्तिक महीनाको प्रथम चौमासिक तलब र दशैं खर्च माग्दै गापा अध्यक्ष रामप्रीत महतोलाई ज्ञापन बुझाउने बताए। यसैगरी, गापाले गत र चालू शैक्षिक सत्रको मसलन्द खर्च नदिएको, पाठ्यपुस्तकको छुट रकम नपठाएको बताए। विभिन्न शीर्षकमा गापाले पठाउनुपर्ने रकम गत वर्षदेखि बाँकी रहेको र चालू आवमा दशैं आइसक्दा पनि चौमासिक तलबसमेत नदिएको आरोप लगाए। अध्यक्ष पटवारीले गापाले प्रत्येक चौमासिकमा तलब दिन ढिला गरेपनि यसपटक पर्वको मुखमा तलब नदिंदा शिक्षकहरूलाई निकै मर्का परेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here