प्रस, वीरगंज, ५ कात्तिक/
    वीरगंज महानगरपालिकाले महानगरका विभिन्न स्थानमा फूटपाथ, सडकमा जथाभावी राखिएका निर्माण सामग्रीलगायत अन्य सामानहरू नियन्त्रणमा लिने अभियान शुरू गरेको छ।
    यसअघि, सात दिने सूचना जारी गरेर सो सामान सडक, फूटपाथबाट हटाउन नगरपालिकाले आह्वान गरेको थियो। महानगरको आह्वानलाई अटेर गरेपछि नगरप्रहरीद्वारा केही दिनदेखि सोविरुद्ध अभियान शुरू गरिएको नगरप्रहरी इन्चार्ज हरि भुसालले बताए। वीरगंज महानगरको आदर्शनगर, माईस्थान, बाइपासको ब्रह्मचोकलगायतका क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री, ठेला, कबाडीका सामान नियन्त्रणमा लिएको इन्चार्ज भुसालले जानकारी गराएका छन्। अभियान शुरू भएयता २५ ट्याक्टर बालुवा, १२ ट्याक्टर गिट्टी, ३ ट्याक्टर इँटा र दोस्रो बाइपासबाट फलामे कबाडीका सामान नियन्त्रणमा लिएको बताए। उनले नियन्त्रणमा लिएका केही सामान डम्पिङ साइट र महानगरपालिकामा राखिएको बताए। उनले यो अभियानलाई निरन्तरता दिने बताए। जथाभावी निर्माण सामग्री राखिएका कारण सडक, फूटपाथको आयु कम भइरहेको भनी गुनासो आएपछि यस्तो कदम चालिएको हो।
    खासगरी एडिबी अन्तर्गत अर्बौं मूल्यको परियोजनामा बनेका कालोपत्र, फूटपाथ यिनै कारणले गर्दा बन्नेसँगै बिग्रिन थालेपछि महानगरपालिका संवेदनशील भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here