प्रस, वीरगंज, २ कात्तिक/
भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा लेखनदासहरूले आइतवार कार्यालय बन्द गर्दा प्रहरी परिचालन भएर खुलेको छ।
बिहीवार राति ८ बजेसम्म काम गरिरहँदा जिल्ला प्रशासन कार्यालय, पर्साले छापा मारी १३ जना कर्मचारी र ८ जना लेखनदासलाई पक्राउ गरेको थियो। उनीहरूबाट केही नगद पनि बरामद भएको थियो। सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, पर्साले कर्मचारीको हकमा विभागीय कारबाईको लागि सिफारिश गरेको छ भने आठजना लेखनदासविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको छ।
यो घटनापछि मालपोत कार्यालय, पर्सा तोकिएको समयमा शुक्रवार सञ्चालन भयो। यसैगरी, आइतवार जिल्ला प्रशासन कार्यालयले तोके अनुसार २० जना सेवाग्राहीलाई एक दिनमा सेवा दिने गरी कारबाई अगाडि बढाउँदा लेखनदासहरूले कार्यालय बन्द गर्ने प्रयास गरेका थिए। मालपोत कार्यालयमा प्रहरी पुगेर लेखनदासहरूलाई तह लगाएको थियो। कार्यालयको काममा अड्चन हाले सोही अनुसार कारबाई हुने प्रहरीले चेतावनी दिएपछि लेखनदासहरू पछि हटेका थिए।
मालपोत कार्यालय, पर्साले आइतवारबाट चारवटा मोठ फाँटमा २०/२० जना सेवाग्राहीको मात्र काम गर्ने सूचना जारी गरेपछि लेखनदासहरू सोको विरोधमा ओर्लिएका हुन्। यसअघि सो कार्यालयबाट दैनिक अढाई सयसम्म रजिस्टे«शन पारित हुने गर्दथ्यो। जिल्ला प्रशासन कार्यालय, पर्साले लकडाउन हटाएसँगै असोजको पहिलो सातादेखि सञ्चालनमा आएका कार्यालयहरूमा आइतवार, सोमवार वीरगंज महानगर, मङ्गलवार, बुधवार पोखरिया, पर्सागढी, बहुदरमाई नगरपालिका र बिहीवार, शुक्रवार १० वटा गाउँपालिकाका सेवाग्राहीहरूको काम गर्न निर्देशन गरेको थियो। तर सोविपरीत मालपोतमा लेनदेनको आधारमा सबै दिन सबै पालिकाका कामहरू हुँदै आएको थियो।
बिहीवारको घटनापछि निमित्त कार्यालय प्रमुख सुमन झाले चारवटा मोठ फाँटबाट दैनिक ८० वटा रजिस्टे«शन मात्र पारित हुने बताए। आइतवार दुईवटा फाँटका कर्मचारी नआएको भन्दै लेखनदासहरूले विवाद गरी कार्यालय बन्द गर्न खोज्दा प्रहरीले सञ्चालनमा ल्याएको थियो।