प्रस, सप्तरी, २ कात्तिक/
    पूर्वमन्त्री डा डम्बरनारायण यादवको आइतवार निधन भएको छ।  महादेवा गाउँँपालिका–३ बथनाहा निवासी डा यादवको ८६ वर्षको उमेरमा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हो।         काठमाडौंमा बसोबास रहेको डा यादव बितेको एक महीनादेखि  बथनाहास्थित जन्मघरमा आएर बसेका थिए। चार दिनअघि घरैमा अचानक अचेत भएका यादवलाई उपचारका लागि विराटनगर लगिएको थियो। केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्कघातका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
    डा यादव २०३६ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री र   २०४० सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्री थिए। प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय उनी मधेसी नागरिक समाजका अध्यक्षको जिम्मेवारीमा थिए। उनको पार्थिव शरीरलाई बथनाहास्थित पैतृक गाउँँमा आइतवार साँझ दाहसंस्कार गरिएको छ। यादवका एक छोरा र एक छोरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here