राधेश्याम पटेल, परवानीपुर, १ कात्तिक/
वीरगंज महानगर–२८ बगहीमा दुई पक्षबीचको झगडा उत्कर्षमा पुगेको छ । पछिल्लो चरणमा विवाद निकै बढेर तनावको अवस्था आएको छ र गाउँमा सुरक्षाकर्मी बढाउनुपरेको छ । अहिले प्रहरीले बगहीमा बिहानै बेलुकी गस्ती बढाएको छ ।

नागरिकता सिफारिशको विषयको कारण एक साताअघि शुरू भएको विवादमा दैनिक झडप भएर डेढ दर्जन मानिस घाइते भइसकेका छन् । वडाध्यक्ष गिरजादेवी कुर्मिन र सो पदमा पराजित सरयुग महतो धानुक पक्षबीच यो विवाद बढेको स्थानीय बताउँछन् । गत असोज २७ गते स्थानीय स्व सुदिष्ट महतो धानुकका छोरा र छोरीको नागरिकता सिफारिश वडाध्यक्ष कुर्मिनले नगरेको विषयमा विवादले तुल समातेको हो । कुर्मिनसँग पराजित धानुकले वडाध्यक्षले आप्mनो दायित्व पूरा नगरी पूर्वाग्रही भएको आरोप लगाएका छन् ।

वडाध्यक्ष कुर्मिनले भने नागरिकताको लागि आएका स्व सुदिष्टका छोरा र छोरीको उमेर नमिलेको कारण सच्याएर ल्याउन भनेको र सो विषयलाई राजनीति विषय बनाएर विवाद गरिएको बताइन् । छोरा र छोरीको जन्मदर्ता अनुसार उनीहरूबीच ६ महीनाको मात्र अन्तर देखिएकोले सो सच्याउन भनेको उनको भनाइ छ । यही विषयलाई लिएर पुरानो इवी साधेको भन्दै कार्यालय तोडफोड गर्ने, आक्रमण गर्ने जस्ता अराजक काम भएको उनले बताइन् ।

यही विषयलाई लिएर अहिले दुवै पक्षका डेढ दर्जन मानिस घाइते भइसकेका छन् । दिनहुँ झगडाको वातावरण बनेको छ । बगहीको यो विवाद अहिले बाह्य टोलका पञ्च भलादमी राखेर समाधान निकाल्न बगहीवासीले दुवै पक्षलाई सुझाएका छन् । साथै विवाद सुल्झाउनका लागि प्रहरी, प्रशासनको भूमिका पनि हुनुपर्ने उनीहरूको राय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here