प्रस, वीरगंज, २८ असोज/
वीरगंज महानगरपालिका–४ अलखियामठनजीक होटेल मकालुअगाडि सिटी स्क्यान रहेको जग्गा किर्ते गरी बिक्री गर्ने काममा संलग्न ललितपुर महानगरपालिका कुसुन्ती निवासी मुकेश राजभण्डारी भन्ने केवलप्रताप राणामाथि जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान शुरू गरेको छ ।
किर्ते जग्गा प्रकरणमा संलग्न राणालाई केन्द्रीय अनुसन्धान ब्युरो
(सिआइबी)ले पर्सा प्रहरीलाई बुझाएपछि यस सम्बन्धमा अनुसन्धान शुरू भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
राणा पक्राउ परेपछि किर्तेमा संलग्न भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारी तथा लेखनदास तनावमा आएका छन् । गत असारमा प्रतीक दैनिकले यो जग्गा किर्ते प्रकरणलाई सार्वजनिक गरेको थियो । राणा पक्राउ परेपछि धेरैको पोल खुल्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले किर्ते जग्गा प्रकरणसँग जोडिएका सबै आरोपीलाई कानूनको कठघरामा ल्याउने बताइन् । उनले हिजो मङ्गलवार राणा पर्सा प्रहरीको जिम्मामा आएपछि यस घटनाबारेमा अनुसन्धान शुरू भएको बताइन् ।
प्रहरीले राणाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा सरकारी कागजात किर्ते मुद्दामा दश दिनको थुना म्याद लिएको छ । अभियुक्त राणाले वीरगंज–४ सिटी स्क्यान रहेको जग्गाको धनी काठमाडौं महानगरपालिका–१ दरबारमार्ग निवासी स्व कमला राजभण्डारी र स्व गोपाल राजभण्डारीका नक्कली छोरा बनेर ५ कट्ठा १५ धुर ९ कनवा जग्गा आप्mनो नाममा दर्ता गर्न सफल भएका थिए ।
भूमिसुधार तथा मालपोत कार्यालय पर्साबाट २०७६ फागुन १९ गते पास भएको यो जग्गा गिरधारी (बंसल) अग्रवाललाई बिक्रीको तारतम्य मिलाएर रु ५० लाख बैना लिएको भनी अग्रवालले पर्सा जिल्ला अदालतमा मुद्दा दिएको अवस्था छ भने अर्काेतर्पm राणाले नै एनआइसी एशिया बैंकबाट सोही जग्गा धितो राखेर रु २० करोड ऋण माग गरेको अनुसन्धानबाट खुलेको छ ।
घटना बाहिर आएपछि स्व राजभण्डारीका छोरा राजीव राजभण्डारीले २०७७ साउन ६ गते सिआइबीमा उजूरी दिएका थिए । यो घटना प्रकरणमा एकजना लेखनदास पक्राउ परिसकेको अवस्था छ भने पर्सा प्रहरीले बैना दिएका अग्रवालसँग पनि सोधपूछ शुरू गरेको थियो । तर यो घटनामा सिआइबीले अनुसन्धान शुरू गरेपछि पर्सा प्रहरी पछाडि हटेको प्रउ पन्तले बताइन् ।