प्रस, वीरगंज, २७ असोज/
जिल्ला प्रशासन कार्यालय, पर्सा अन्तर्गतको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले सरकारी कार्यालय सञ्चालनको क्रममा पर्सा जिल्लाका महानगर, नगर र गाउँपालिकाहरूलाई दुई/दुई दिनको समय प्रदान गरेपछि अहिले यही विषयलाई लिएर सरकारी कार्यालयमा घूसखोरी बढेको छ।
जिल्ला प्रशासन कार्यालयले आइतवार, सोमवार वीरगंज महानगरपालिका, मङ्गलवार, बुधवार पर्सागढी, बहुदरमाई र पोखरिया नगरपालिका तथा बिहीवार, शुक्रवार १० वटा गाउँपालिकाका जनतालाई सेवा प्रदान गर्न सरकारी कार्यालयहरूलाई निर्देशन गरेको थियो। अहिले सेवाग्राहीहरूको बढी भीड हुने कार्यालयहरूमा यही बहानामा घूसखोरी बढेको हो। यातायात सवारी शाखा, मालपोत कार्यालय पर्सा, नापी, भूमिसुधार र स्वयम् जिल्ला प्रशासन कार्यालयमा पनि यसै बहानामा घूसखोरी बढेको छ। तोकिएको दिनमा नतोकिएका ठाउँका सेवाग्राहीहरूले सेवा लिंदा घूस दिनुपरेको सेवाग्राहीहरूले बताए। घूस दिएपछि सो दिनको सूचीमा नपरेको ठाउँको काम हुने र घूस नदिनेहरूको काम नहुने गरेको बताएका छन्। सेवाग्राहीहरूले सम्बन्धित कार्यालयमा यसबारे तथ्याङ्क हेर्दा प्रस्ट हुने बताए। कुनै पनि कार्यालयमा घूस दिनेहरूको काम साप्ताहिकरूपमा हुने गरेको बताइएको छ।