राधेश्याम पटेल, वीरगंज, २२ असोज/
    वीरगंजका चिकित्सकहरूले शुक्रवारदेखि आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। प्राडा गोविन्द केसीको माग यथाशीघ्र सम्बोधन गर्नुपर्ने माग गर्दै वीरगंजका चिकित्सकहरूले आग्रह गरेका छन्। नेपाल चिकित्सक सङ्घ नारायणी शाखा वीरगंजमा आबद्ध साढे ३ सयजना चिकित्सकले वीरगंजका २६ वटा अस्पतालको आकस्मिक सेवाबाहेक अन्य सबै सेवा ठप्प पार्ने कार्यक्रम तय गरेको सङ्घका सचिव डा उदयनारायण सिंहले जानकारी गराए।
    “हामीले असोज १५ गतेदेखि धर्ना, प्रदर्शन तथा असोज २२ गतेदेखि २४ घण्टे रिले अनशन पनि शुरू गरेका छौं,” उनले भने, “डा केसीको अवस्था गम्भीर बन्दै गएको छ, सरकारले उनको माग पूरा गरी जीवनरक्षा गर्न गम्भीर देखिएको छैन। तसर्थ आन्दोलन गर्न हामी बाध्य भएका छौं।”
    सङ्घका अध्यक्ष डा अरुणकुमार सिंहले वार्ता सफल भयो भने चिकित्सकहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने बताए। चिकित्सा शिक्षाशास्त्रमा सुधार तथा विगतका सम्झौता कार्यान्वयनमा नेपाल सरकारले बेवास्ता गरेपछि डा केसीले २४ दिनअघि हुम्लाबाट अनशन शुरू गरेका थिए। उनको लो ब्लडप्रेसर र डिहाइड्रेशनले शारीरिक अवस्था जटिल बन्दै गएपछि देशभरका चिकित्सक, स्वास्थ्यकर्मी, सचेत नागरिक आन्दोलित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here