प्रस, परवानीपुर, २२ असोज/
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले रौतहटकी एक बिरामीको स्वास्थ्यसँग खेलवाड गरेको समाचार छ।
रौतहट, राजपुर नगरपालिका–६ की ४५ वर्षीया नीलम देवीको उपचारमा लापरवाही गरेको उनको परिवारजनले आरोप लगाए। उनका देवर रामदयालसाह सोनारले भाउजू नीलमको उपचारमा अस्पतालका चिकित्सकले लापरवाही गरी मृत्युको मुखमा पु–याएको आरोप लगाए।
मङ्गलवार नीलमको स्वास्थ्य अवस्था बिग्रिएपछि नेशनल मेडिकल कलेज भर्ना गरिएको थियो। उनको क्रिटाइन १२ पुगेपछि मिर्गौलामा खराबी भएको चिकित्सकले थाहा पाए। त्यसपछि उनको डायलोसिस गर्नुपर्ने आवश्यकता देखियो। तर नेशनल मेडिकल कलेजले डायलोसिस नगरी सीधै नारायणी अस्पताल उपचारको लागि रेफर गरी पठायो। नारायणी अस्पतालमा पिसिआर परीक्षण गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिए। तर चिकित्सकहरूले पिसिआर परीक्षणको साटो जिन एक्सपर्ट परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो। त्यसपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरियो।
नारायणी अस्पताल ननकोभिड भएकोले सङ्क्रमितको डायलोसिस गर्न चिकित्सकले मानेनन् र नीलमलाई वीरगंज हेल्थकेयरमा बुधवार बिहान पठाए। वीरगंज हेल्थकेयरमा डायलोसिस गर्न बिरामीको हातमा फेस्टुला नबनेको र घाँटीनिरबाट पनि तयारीको अभावमा डायलोसिस गर्न अस्वीकार गरेपछि बिरामी पक्ष चितवनमा उपचार गराउन पुगेको छ। नारायणी अस्पतालको एम्बुलेन्समा हाल उनलाई पुरानो चितवन मेडिकल कलेजको आइसियुमा राखी उपचार भइरहेको बताइएको छ। उनको स्वास्थ्य अवस्था स्थिर बनाए पनि चिकित्सकले डायलोसिस गर्ने बताएका छन्।
नारायणी र नेशनल मेडिकल कलेजले उनको उपचारमा गम्भीरता नदेखाएको रामदायलको भनाइ छ।