प्रस, पर्सागढी, २१ असोज/
    मालपोत कार्यालय, पर्सामा ११ जना गैरकर्मचारीले संवेदनशील फाँट सञ्चालन गर्दैआएको रहस्य खुलेको छ। जग्गासम्बन्धी संवेदनशील फाँट मानिएको तामेली र मठ फाँटलगायतमा ११ जना गैरकर्मचारी खटिएका छन्।
    उनीहरू खटेको बारेमा कार्यालय प्रमुख सुमन झा अनभिज्ञ छैनन्। उनले कर्मचारी अभावमा गैरकर्मचारी खटेको स्वीकारे। मालपोतबाट दरबन्दी, करार र अस्थायीमा नरहेका गैरकर्मचारीहरूको खटनपटन झनै विवादास्पद छ। उनीहरूले सेवाग्राहीहरूसँग खुलेआम रकम माग्ने गरेका छन्। रकम नदिनेहरूको काम नगर्ने, उनीहरूलाई दैनिकी कार्यालयमा आउन बाध्य पारेर दुःख दिने र पैसा लिएर मात्र काम गर्नेजस्ता कार्य गर्दैछन्।
    यसबारेमा कार्यालय प्रमुख झाले जवाफ दिएनन्। कार्यालयमा खटेका ११ जना कर्मचारीले खुलेआम सेवाग्राहीसँग रकम लिने गरेको प्रमाण सुरक्षित छ। यसअलावा मालपोत कार्यालय, पर्सामा लेखनदासहरू स्वयम्ले फाँट–फाँटमा गएर आआफ्नो काम गर्छन्। यही कारण बेलाबेलामा  मालपोत कार्यालय, पर्सामा फर्जी जग्गा प्रकरण हुने गरेको छ।
    गैरकर्मचारी र लेखनदासहरूको मनोमानी काम रोक्न कार्यालय असमर्थ देखिएको छ। स्वयम् कार्यालय प्रमुख कर्मचारी अभाव भएको दुहाइ दिएर यी सबै विकृतिलाई टुलुटुलु हेरी बसेका छन्। गैरकर्मचारीको मनोमानीलाई नजरअन्दाज गर्नुले कार्यालय प्रमुखको संलग्नता प्रस्टिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here