आलुको बोराबाट ८३ लाख नगद बरामद

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ असार/

सशस्त्र प्रहरी, धनुषाले स्रोत नखुलेको करीब साढे ८३ लाख रकमसहित मङ्गलवार दिउँसो सवा १ बजे दुईजना नेपालीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवाल नेतृत्वको टोलीले धनुषा, जनकनन्दनी गाउँपालिका–५, उदाह निवासी ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल चढेको मोटरसाइकललाई सोही गापा–१ इनरुवा चेक प्वाइन्टको सीमा क्षेत्रमा चेकजाँच गर्दा उनीहरूले ल्याएको आलुको बोराभित्रबाट नेरु ८३ लाख ६४ हजार ५०० बरामद भएको सशस्त्र प्रहरी बल मधेस प्रदेशका डिआइजी गणेश ठाडामगरले जानकारी गराए । सशस्त्र प्रहरीले एक हजार रुपैयाँका सात हजार थान, ५०० रुपैयाँका दुई हजार ६९९ थान, १०० रुपैयाँका एक सयथान र ५० रुपैयाँका एक सय थान नोट नियन्त्रणमा लिएको छ ।

ज.७प ५००७ नम्बरको मोटरसाइकलको पछाडि आलुको बोरा राखेर दुवैजना नेपाल आइरहेको र सशस्त्र प्रहरीलाई शङ्का लागेपछि चेकजाँच गर्दा रकम बरामद भएको सप्रनि कटुवालले बताए । रकम बरामद भएपछि सोको स्रोत खुलाउन नसकेपछि रकमसहित दुवैजनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान तथा कारबाहीको लागि व्यक्ति, नगद र मोटरसाइकल जिल्ला भन्सार कार्यालय, जनकपुरमा बुझाएको सप्रनि कटुवालले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।