प्रस, पंचगावाँ, १८ असोज/
प्रहरी चौकी रङ्गपुरटाँडीले चरेससहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरबाट जङ्गलको बाटो चरेस भित्रिएको सूचना पाएपछि पटेर्वासुगौली गाउँपालिका–२ बङ्कुलटोलबाट सो परिमाणको चरेससहित दुईजनालाई पक्राउ गर्न सफल भएको हो । ठूलो परिमाणमा चरेस भित्रिएको भएपनि भरियाहरूले भण्डार गर्ने स्थानमा पु-याएर लुकाउन सफल भएको कारण प्रहरीले थोरै परिमाणमा चरेस बरामद गरेको हो ।
थोरै परिमाणमा चरेस बरामद भएपनि यसपटक मकवानपुरबाट भरिया बनेर आएकी एकजना महिला र स्थानीय एकजना तस्कर पक्राउ परेकाले प्रहरीले निजहरूबाट लागूऔषधबारे थप जानकारी लिन सक्ने आधार बनेको छ । उनीहरूबाट मकवानपुर, धादिङ्गबाट भित्रिने चरेस, गाँजाबारे सूचना सङ्कलन गर्न सक्ने जानकारहरू बताउँछन् । समातिएकामा मकवानपुर जिल्ला मनहरी गापा–३ बस्ने सीता रिजाल र पटेर्वासुगौली गापा–३ कञ्चनपुर बस्ने दुःखी मियाँलाई बरामद चरेससहित प्रहरी चौकी रङ्गपुरटाँडीले जिल्ला प्रहरी कार्यालय पर्सा चलान गरेको छ ।
लकडाउन, निषेधाज्ञामा मकवानपुर, धादिङ्गबाट ठूलो परिमाणमा लागूऔषध गाँजा, चरेस भित्रिएको र सीमा सिल भएपनि खुला सीमाबाट भारत पु-याउने कार्य हुँदै आएको छ ।