प्रस, सेढवा, १८ असोज/
आधुनिक कृषिका लागि बनेका यान्त्रीकरणको प्रयोग पर्साको हकमा यस वर्ष किसानलाई घाटाको व्यापार भएको छ ।
धानबालीको कटानी तथा दाइँ गर्ने कार्यमा सहजताका लागि निर्माण भएका कम्पाइन (हार्भेस्टर) मेशिनबाट किसानलाई यसपटक निरन्तर वर्षाले घाटा भएको हो । लगातारको वर्षाका कारण पाकेका बाली भिœयाउन किसानलाई मजदूर नपाएर एउटा समस्या भयो भने अर्काे कम्पाइन मेशिन पनि चलाउन सकिएन । कतिपय कम्पाइनको कार्यक्षमता बढी भएकाले हिलोपानीमा बाली सजिलै कटानी भयो । तर कम्पाइन चलाएका किसानलाई दोहोरो घाटा भएको छ । खेतमा कम्पाइन चलेको चक्काले खेतमा ४ फिटसम्म गहिरो खाल्डो बनाएको हुँदा किसानहरू झनै समस्यामा परेको जीराभवानी गाउँपालिका–२ सेढवा निवासी अशोक महतो थारूले बताए । कम्पाइनको चक्काले पारेको खाल्डोलाई समयमैं समथर बनाउन नसके खेतमा लगाइने गहुँबाली वा अर्को बाली प्रभावित हुने किसान थारूले बताए ।
खेतको सतह समथर बनाउन अहिले नै खेतमा पानी हालेर रोटाभेटरबाट जोताइ गरेको अर्का किसान शम्भु दास थारूले बताए । उनले १९ कट्ठा खेतमा पानी हालेर जोताइ (गजार) गर्दा तीन घण्टा समय लागेको र एक घण्टाको जोताइ १ हजार २ सय रुपैयाँ ट्याक्टरलाई तिर्नुपर्ने किसान थारूले बताए ।
यता ठोरी गापा अन्तर्गतका सुवर्णपुर, गडुवालाइन, क्षेत्रीलाइन, बाघमोर्चा, गोपीबस्ती, मालीबस्ती, विजयबस्ती, निर्मलबस्तीलगायतका किसानहरूले पनि कम्पाइन मेशिनबाट भएका खाल्डाहरू समाउने काममा रोटाभेटरबाट जोताइ गरिरहेका छन् । ती खाल्डाहरू समयमा बराबर नमिले पानी जम्ने तथा हिउँदे बालीका बोटहरू सुकेर नष्ट हुने किसानहरूले
बताए ।