प्रस, वीरगंज, १५ असोज/
    जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय अनुसन्धानमा जागीर लगाइदिन्छु भन्दै नक्कली प्रहरी बनेर परीक्षा लिइरहेको अवस्थामा परीक्षास्थलबाट मुख्य नाइकेसहित २७ जनालाई प्रहरीले हिजो पक्राउ गरेको थियो।
    प्रहरी निरीक्षकको नक्कली पोशाक लगाएको अवस्थामा मुख्य नाइके जीतपुरसिमरा उमनपा–७ चौधरीटोल निवासी ४० वर्षीय अजयकुमार यादवसहित ६ जना सहयोगीलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मनोजीत कँुवरले जानकारी दिए।
    परीक्षा दिने २१ जना परीक्षार्थी र दुईजना सहयोगीलाई प्रहरीले हिजो राति नै परिवारको जिम्मा लगाएको प्रनाउ कँुवरले पत्रकार सम्मेलनमा जानकारी दिए। मुख्य नाइकेका सहयोगीको रूपमा पक्राउ परेका जीतपुरसिमरा उमनपा–५ निवासीे हीरालाल महतो, वसन्त चौधरी, वीमनपा–१६ निवासी रविकुमार चौरसिया, पकाहामैनपुर सबैठवाटोल निवासी शिवनारायण चौरसिया, वीरगंज रानीघाट निवासी रामजी चौरसिया रहेका छन्। कुम्हालटोलमा नवनिर्मित देव पार्टी प्यालेसमा विगत ६ महीनादेखी यादवले कोठा भाडामा लिई शङ्कास्पद गतिविधि गर्दै आएको र सो घटनामा संलग्न पार्टी प्यालेसका सञ्चालक रवि चौरसियालाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा राखेको छ। प्यालेसका सञ्चालक चौरसियाको शङ्कास्पद गतिविधिमा मुख्य भूमिका रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रनाउ कँुवरले लोकसेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताए। प्रनाउ कँुवरले पक्राउ परेका यादवले आफू प्रहरी निरीक्षक भएको भन्दै प्रहरी चौकी नगवा र परवानीपुरलाई थर्काउँदै दैनिक प्रहरीबाट सलामीसमेत खाँदै गरेको बताए। पार्टी प्यालेसबाट प्रहरीले नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेशपत्र दुईवटा, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेशपत्र २१ वटा र प्रश्नपत्र २६ वटा, खरिदार पदको प्रवेशपत्र एउटा बरामद गरेको थियो। पक्राउ परेका यादवले २०७२ सालमा सरकारी छाप, दस्तखत किर्ते मुद्दामा ११० दिन वीरगंज कारागारमा कैद सजाय भुक्तानसमेत गरिसकेको जानकारी दिइएको थियो। अहिलेसम्म यादवले परीक्षार्थीहरूबाट ३ लाख ६१ हजार रुपैयाँ असुल गरेको पाइएको छ।
परीक्षार्थीहरू के भन्छ
    जागीर लगाइदिन्छु भन्दै प्रतिव्यक्ति रु १ लाख ५० हजार दिने सहमति भएको थियो। जीतपुरमा रहेको एक साइबर क्याफेमा आउने–जाने गरेका युवाहरूसँग यादवको भेट भएको थियो। आफूहरू पनि जागीरको खोजीमा रहेकाले यादवले देखाएको प्रलोभनमा परेको प्रतिक्रिया दिएका छन्। यादव नक्कली प्रहरी हो भन्ने आफूलाई थाहा नभएको तर प्रहरीको गाडीमैं चढेर आएको देखेर आफूहरू विश्वस्त भएको उनीहरूको भनाइ छ। यादव तथा साइबर चलाउने सञ्चालकबीच मिलेमतो रहेको परीक्षार्थीहरूको भनाइ छ। अहिलेसम्म प्रतिव्यक्ति १० हजारदेखि २५ हजार नगद, फारामबापत रु १ हजार दिएको परीक्षार्थीहरूले जानकारी दिए। हिजो भएको परीक्षामा उत्तीर्ण हुनेहरूले डेढ लाख रुपैयाँ दिने सहमति भइसकेको र रकम आफूहरूले जोहोसमेत गरिसकेको परीक्षार्थीहरूले जानकारी दिए।
    परीक्षा गार्डका लागि दुईजना सरकारी शिक्षिकालाई प्रतिदिन रु ८ सय कर कट्टा गरी भत्ता दिने भन्दै झुक्याएर ल्याएको पनि प्रनाउ कुँवरले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here