सुग्रीव साह, भिस्वा, ६ चैत/
सीमावर्ती भारतको सिकटा प्रखण्ड अन्तर्गत बलथरास्थित प्रहरी चौकीमा शनिवार एकजनाको मृत्यु भएपछि गाउँलेहरूले थाना तोडफोड गरेर आगजनी गरेका छन् ।
सीमावर्ती भारत, बिहारमा शनिवार होली पर्व मनाइएको थियो । सो क्रममा सिकटा थानाले प्रतिबन्ध लगाएको डिजे बजाएर नाचगान गर्दा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये आर्यनगरका अनिरुद्ध यादवको हिरासतमा मृत्यु भएको कुरालाई लिएर सो ठाउँका बासिन्दाहरूले प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका हुन् ।
दुई/तीन वर्षअगाडि मात्र निर्मित चार तले प्रहरी थानाका सबै कोठामा तोडफोड गरिएको छ । थानाले विभिन्न समयमा बरामद गरेर राखेको र थाना प्रयोजनका लागि रहेका आठवटा गाडीमा आगजनी गरिएको थियो । यसैगरी, दुई चक्के सवारीसाधन पनि तोडफोड गरिएको स्थानीयले बताए ।
मृत्यु भएको हल्ला पैmलिएसँगै बालबालिका, महिला, युवाहरूको समूहले तोडफोड गरेको थियो । यसैबीच, भीडबाट कसैले चलाएको गोली लागेर प्रसोतीपुर थानाका प्रहरी रामजनक रायको मृत्यु भएको छ । उनको पेटमा गोली लागेको थियो र बेतियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच घण्टासम्म प्रहरी चौकीलाई नियन्त्रणमा लिएर स्थानीयले तोडफोड र आगजनी गरेका थिए । घटनापछि प्रहरीले चौधजनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, मृतक यादवको शनिवार राति नै शल्यपरीक्षण गरिएको छ । प्रहरीले हिरासतमा रहेका यादवको माहुरीको टोकाइबाट मृत्यु भएको दाबी गरेको छ । शल्यपरीक्षण रिपोर्ट अहिले सार्वजनिक गरिएको छैन ।
यसैबीच, प्रहरीले आर्यनगरमा घरघरमा छापामारी गरेको छ । छापामारीपछि चौधजनालाई नियन्त्रणमा लिएको र टोलमा रहेका सयौं मानिस घरमा ताला लगाएर फरार भएका छन् । प्रहरीले कारबाई थालेपछि निर्दोषहरू पनि समातिने डरले गाउँ छाडेर आफन्तकहाँ लुकेर बसेका छन् ।