जीतलाल श्रेष्ठ, निजगढ, ६ चैत/
बारामा काठ चोरी तस्करीका घटनामा गत वर्ष केही कमी आए पनि अहिले चोरी तस्करीका घटना फेरि बढ्न थालेको छ । हिजो शनिवार राती करीब ११ बजे एउटा पिकअप भ्यानसहित चोरी तस्करी गर्न ठीक्क पारिएको सालका नौ थान गोलिया डिभिजन वन कार्यालय, बाराका सशस्त्र वनरक्षकसहितको टोलीले बरामद गरेको छ ।
तामागढी साझेदारी वन व्यवस्थापन समिति, कोल्हवी अन्तर्गतको राजमार्गको सिम्री वन क्षेत्रबाट नक्कली नम्बर प्लेट हालेको पिकअप भ्यान डिभिजन वन कार्यालय, बाराको सशस्त्र वन सुरक्षाकर्मीको टोलीले राति नियन्त्रणमा लिएको हो । एउटै प्लेटमा नेपाली नम्बर र भारतीय नम्बर प्लेट लेखिएको र आवश्यकता अनुसार सो प्लेट प्रयोग गर्न सकिने गरी फिट गरिएको थियो ।
पूर्व–पश्चिम राजमार्गबाट करीब तीन किलोमिटर दक्षिण रौतहटको सिम्री जाने ग्रेभल सडकनजीकैको वन क्षेत्रबाट दुईवटा सालको रूख ढालेर नौवटा गोलिर्या तयार पारिएको अवस्थामा पिकअप भ्यानसहित वन कर्मचारीले नियन्त्रणमा लिएका थिए । काठ चोर तस्कर समूहले वन कर्मचारी आएको थाहा पाएपछि पिकअप भ्यान नै छोडेर भागेका कारण उनीहरू पक्राउ नपरेको डिभिजन वन कार्यालय, बाराका जमदार एवं सशस्त्र वनरक्षक धु्रवकुमार कटुवालले बताए ।
बरामद गोलिया करीब ९० क्यूफिट रहेको र हालको बजार मूल्य अनुसार चार लाख रुपैयाँभन्दा बढीको रहेको जनाइएको छ ।
काठ चोरी तस्करीमा संलग्न सो भ्यानको विषयमा अनुसन्धान शुरू गरिसकेको डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले बताए ।