अबु धाबी (युएई), २ चैत/एएफपी

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधवार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएको छ ।

रूस–युक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्न र तेल बजार सन्तुलनमा राख्ने प्रयासस्वरूप उनको युएई र साउदी अरबको भ्रमण तय भएको बताइएको छ ।

युएईका राजकुमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोनसन अबुधाबी आइपुगेका छन् । उनी यतैबाट रियाद पनि जानेछन् ।

तेलको मूल्यमा अत्यधिक अस्थिरता देखिएपछि उनको भ्रमण हुन लागेको भएपनि भ्रमणका क्रममा गत शनिवार साउदी अरबद्वारा ८१ जनालाई दिइएको मृत्युदण्डबारे पनि छलफल हुन सक्ने अनुमान गरिएको छ ।

सन् २०१८ मा साउदी पत्रकार जमाल खासोग्गीको हत्या भएदेखि रियाद भ्रमण गर्ने केही पश्चिमी नेताहरूमध्ये एक बनेपछि जोनसनले वास्तविक साउदी नेता राजकुमार मोहम्मद बिन सलमानलाई पनि भेट्नेछन् ।

खासोग्गीको हत्यामा साउदी अरबलाई ‘परिया’ राज्यको रूपमा व्यवहार गर्ने बताएको अमेरिकी प्रशासनको नेतृत्व गरेका राष्ट्रपति जो बाइडेन र राजकुमार मोहम्मदबीच बाइडेनले पद ग्रहण गरेदेखि औपचारिक सञ्चार भएको छैन ।

बेलायती प्रधानमन्त्रीले राजकुमार मोहम्मदसँग मानव अधिकारको चिन्ता र हालै ठूलो सङ्ख्यामा दिइएको मृत्युदण्ड र युक्रेनमा रूसको आक्रमणमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्न आग्रह गर्नेछन् । विश्वका दुर्ई ठूला तेल निर्यातकर्ता र दुवैको रूससँग सम्बन्ध रहेको साउदी अरेबिया र युएई अहिलेसम्म रूसविरुद्ध अडान लिनबाट जोगिएका छन् ।

जोनसनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निठुर’ आक्रमणको प्रभाव युरोपभन्दा धेरै टाढा महसूस हुने भ्रमणमा निस्कनुअघि विमानस्थलमा बताएका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here