किभ, २९ फागुन/एएफपी
युक्रेनले राजधानी कीभको अथक प्रतिरक्षाको लागि आइतवार तयारी गरेको समाचार छ । रूसले घेरा हालेको दक्षिणी बन्दरगाह शहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।
शनिवार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रूससँग नभएको बताएका छन् ।
मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायता रूसी चेकपोस्टमा रोकिएको थियो । तर यो आइतवार शहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले बताइन् । रणनीतिक बन्दरगाह शहर मारिउपोलले मानवीय प्रकोपको सामना गरिरहेको छ । यहाँ रूसले गरेको आक्रमणमा परी एक हजार ५०० भन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मारिउपोल अझै पनि घेरिएको छ ।
यो शहरलाई युद्धबाट पाउन नसक्ने रूसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरूले सर्वसाधारणलाई निशाना बनाइरहेको फ्रान्सेली सैन्य स्रोतले भनेको समाचारमा जनाइएको छ ।
“दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुतरूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,” रूसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भने ।
युक्रेनको एलभिभमा नौजनाको मृत्यु, ५७ जना घाइते
युक्रेनको एलभिभ शहरमा रूसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौजनाको मृत्यु भएको छ । रूसी सेनाले गरेको हवाई आक्रमणमा परी अरू ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
एलभिभ नगरका प्रमुख अन्द्रीय साडोभियले आइतवार टेलिग्राममा लेखेका छन्, “दुर्भाग्यवश हाम्रा नौजनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।” रूसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौं मानिस विस्थापित भएका छन् ।
युक्रेनी नागरिकहरूले रूसी घेराबन्दीमा परेका शहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् । ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरूले जनाएका छन् ।
विशेषगरी दक्षिणी बन्दरगाह शहर मारिउपोल, रूसी सीमासँग नजीकै रहेको सुमी तथा कीभबाहिर रहेका नगर र गाउँँहरू बढी प्रभावित भएका छन् । रासस