राधेश्याम पटेल, वीरगंज, २८ फागुन/

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले देश बनाउने पार्टी एमाले भएको बताएका छन् । वीरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

वीरगंज–२३ प्रसौनीबिर्तामा आयोजित पार्टी प्रवेश कार्यक्रममा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई फूलमाला, अबिर लगाइ एमालेमा प्रवेश गराउँदै उनले भने, “एमाले देश बनाउने र जनताको वास्तविक समस्यालाई समाधान गर्ने पार्टी हो, कोही निराश हुनुपर्दैन ।” उनले आफू प्रधानमन्त्री हुँदF तराई–मधेसमा वंशज नागरिकताको समस्या समाधान गर्न अध्यादेश ल्याएको र आगामी निर्वाचनबाट नेकपा एमालेको सरकार बन्यो भने नागरिकतासम्बन्धी समस्या हल गर्ने पनि ठोकुवा गरे ।

उनले मधेसको विकासबेगर नेपालको विकास असम्भव भएको भन्दै गरीबी तथा कृषिसम्बन्धी समस्या समाधार नगरी देश विकास हुन नसक्ने चर्चा गर्दै नेकपाको सरकारले तीन वर्षमा हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, बारादेखि धनुषासम्मको एक लाख ८५ बिघा क्षेत्रफल जग्गा सिंचाइ हुने सुनकोशी डाइभर्सनलगायतका आयोजना अघि बढाएको र आगामी दुई वर्षभित्र मधेसमा कृषिमा सिंचाइको समस्या समाधान हुने बताए ।

उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता रु सयबाट शुरू भई अहिले चार हजार पु¥याइएकोमा आगामी निर्वाचनबाट नेकपा एमाले सत्तामा गयो भने पाँच हजार रुपैयाँ पु¥याउने उनले बताए । उनले एमालेको सरकारले कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्यकर्मीलगायतको पनि सेवा सुविधा बढाउने बताए ।

जसपा जातिवादमा चल्ने पार्टी हो

वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले जनता समाजवादी पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । ओलीको हातबाट माला र अबिर लगाइ उनी एमालेमा प्रवेश गरेका हुन् । उनले केपीशर्मा ओलीबाट पहिलेदेखि प्रभावित भएको र अर्कै पार्टीमा गइरहेको बेला अचानक नेकपा एमालेका नेता एवं उद्योगपति मोतीलाल दुगडको प्रयासमा नेकपा एमालेमा प्रवेश गर्ने अवसर जुरेको बताए ।

 “म अर्कै पार्टीमा गइरहेको थिएँ, बीच बाटोबाटै नेकपा एमालेमा आएँ, सबैलाई लाल सलामको अभिनन्दन गर्न चाहन्छु,” उनले भने, “ओलीजीको नेतृत्वमा एमालेले आगामी चुनावमा देश कब्जा गर्छ ।” उनले आफूले किन जसपा छाडेको कुरा सबैलाई थाहा छ भन्दै जसपाले राम्रा नेतालाई बचाउन सक्दैन, त्यो जातिवादमा चल्ने पार्टी हो भनी बताए ।

जातिवादमा चल्ने पार्टी राष्ट्रिय पार्टी हुन सक्दैन, एमाले राष्ट्रिय पार्टी हो र नेकपा एमालेसँगको आबद्धता अन्तिम पडाव हुने उनले स्पष्ट पारे । उनले नेकपाको विधि विधान पालना गरी सेवकको रूपमा काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here