प्रस, पर्सागढी, २६ फागुन/
वीरगंज महानगरपालिका र पर्सागढी नगरपालिकाबीच रहेको भेडाहा खोलाबाट दैनिक बालुवा, ग्रेभल तस्करी भइरहेको छ । साँझ चार बजेदेखि बिहान आठ बजेसम्म भेडाहा खोलाबाट सयौं ट्याक्टर बालुवा, गिट्टी तस्करी हुने गरेको छ । त्यसैगरी बयलगाडाबाट दिनभरि नै बालुवा ओसारिन्छ ।
तस्करीगरी ल्याइएको बालुवा, गिट्टी, ग्रेभल, ढुङ्गा तस्करहरू महँगो मूल्यमा बिक्री गर्छन् । तस्करहरूले प्रहरी चौकी मिलनचोक र सशस्त्र बेस क्याम्प सोलखपुरलाई नदीजन्य पदार्थ बोकेको ट्याक्टर प्रतिटिप रु पाँच सय बुझाउँदै आएको बताएका छन् ।
भेडाहा खोलाको सय मिटर नजीकै प्रहरी र सशस्त्र प्रहरीको कार्यालय भए पनि उनीहरूको सामुन्नेबाट सयौं ट्याक्टर ढुङ्गा, बालुवा, ग्रेभलको तस्करी भइरहेको छ । यसबारे सुरक्षाकर्मीलाई सोध्दा खोलाको तस्करी रोक्न हामी यहाँ बसेका होइनौं, हाम्रो अरू पनि काम छ भन्छन् ।
दिनहुँ ढुङ्गा, बालुवा तस्करी भइरहेको देखेर प्रहरी र स्थानीय तहलाई खबर गर्नुको साटो स्थानीय बासिन्दा सञ्चारकर्मीलाई जानकारी गराउँछन् किनभने तस्करी नियन्त्रणतर्फ प्रहरी प्रशासन र स्थानीय तहले चासो देखाएका हुँदैनन् ।
पटेर्वासुगौली गाउँपालिका अन्तर्गत बाघमोर्चा खोलाबाट पनि नदीजन्य पदार्थको तस्करी भइरहेको छ । प्रहरी चौकी रङ्गपुर, सबडिभिजन वन कार्यालय रङ्गपुरको मिलेमतोमा तस्करहरूले दिनभरि ट्याक्टरबाट ढुङ्गा, बालुवा, ग्रेभल तस्करी गरिरहेको स्थानीय बासिन्दाको गुनासो छ ।