वाशिंगटन, २६ फागुन/एएनआई
युक्रेनमा अमेरिकी अनुदानमा रासायनिक र जैविक हतियारहरू रहेको भन्ने रूसको आरोप अमेरिकाले अस्वीकार गरेको छ । सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधवार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ ।
रूसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधवार युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक रोगजनक जीवाणुहरू फैलाएको बताएका थिए ।
“क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको छ । त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको” अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले “यो रूसी विकृति पूर्णतया बकवास हो र रूसले अर्काे देशविरुद्ध यस्तो झूटा दाबी आविष्कार गरेको पहिलोपटक होइन र यस्ता दाबीहरू धेरैपटक खारेज गरिएका छन्”– भनेको छ ।
ब्लिन्केन र कुलेबाबीच युक्रेनलाई थप सुरक्षा, मानवीय सहायता प्रदान गर्ने प्रयासबारे छलफल
वाशिंगटन/एएनआई
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ । उनीहरूबीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक प्रयासबारे छलफल भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताएका छन् ।
वार्तापछि आधिकारिक विज्ञप्ति जारी गर्दै विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आज युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबासँग फोनमा कुरा गरेको र उनीहरूबीच युक्रेनलाई थप सुरक्षा सहयोग र मानवीय सहयोग उपलब्ध गराउने समन्वयात्मक प्रयासबारे छलफल भएको जनाइएको छ ।
ब्लिन्केन र कुलेबाले रूसको सैन्य कारबाई रोक्न जारी कूटनीतिक प्रयासबारे पनि छलफल गरेको प्राइसले उल्लेख गरेका छन् ।
अमेरिकी तल्लो सदनलद्वारा युक्रेनका लागि खर्च विधेयक पारित
वाशिंगटन/एएनआई/स्पुतनिक
अमेरिकी प्रतिनिधिसभाले बुधवार साँझ सङ्घीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रूसी सैन्य कारबाईका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ ।
विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ । हालको कोष शुक्रवार मध्यरातमा समाप्त हुँदैछ । विधेयकले ७३० बिलियन गैररक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोगको लागि १३.६ बिलियन विनियोजन गर्नेछ ।
युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुर्ई जहाज सकुशल चीन पुगे
बेइजिङ/सिन्ह्वा
युक्रेनबाट निकालिएका चिनियाँ नागरिक बोकेका दुर्ईवटा अस्थायी उडान बिहीवार सकुशल चीन आइपुगेका छन् ।
बिहान ८ः०२ मा पहिलो उडान पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ र दोस्रो उडान ११ः१२ बजे पूर्वी चीनको शानडोङ प्रान्तको जिनान आइपुगेको जनाइएको छ ।
यस अघि युक्रेनबाट चिनियाँ नागरिकहरूलाई फिर्ता लैजाने सात अस्थायी उडानहरू पहिले चीन पुगिसकेका छन् ।
मारिउपोल बाल अस्पतालमा आक्रमण बालिकासहित तीनजनFको मृत्यु
कीभ/एएफपी
दक्षिणी युक्रेनको मारिउपोलमा रहेको बाल अस्पतालमा बुधवार भएको आक्रमणमा एक बालिकासहित कम्तीमा तीनजनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीवार बताएका
छन् ।
ूयुक्रेनको घेराबन्दीमा रहेको मारिउपोलमा रहेको बाल तथा प्रसूति अस्पतालमा हिजो भएको आक्रमणमा एकजना बालिकासहित तीनजनाको मृत्यु भएको नगरपरिषद्ले उल्लेख गरेको छ । रासस