मस्को, २२ फागुन/सिन्ह्वा

रूस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमवार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारूसबीचको सीमामा भएको थियो ।

तर यसपटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रूसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरूले जनाएका छन् ।

तेस्रो चरणको वार्ता सोमवार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन् । उनले आफ्नो फेसबूक स्टाटसमा युक्रेन र रूसका बीचमा अर्काे अर्थात् तेस्रो चरणको वार्ता सोमवार हुनेबारेमा जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युक्रेनका अधिकारीहरूले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतीजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् । दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरू दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन् ।

रूस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रूस र युक्रेनले आगामी केही दिनभित्र नै अर्काे उच्चस्तरीय वार्तामा बस्ने भएको शुक्रवार बताइएको थियो ।

उता रूसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी कीभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रूसले यहाँका आवासीय क्षेत्रहरूमैं गोलाबारी गरिरहेको आरोप लगाइएको छ ।

युक्रेनी राजधानी कीभमा भने खतराको जनाउ दिने साइरनहरू अहिले पनि बजेका बताइएको छ । त्यस्तै, युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ ।

गएको हप्ता दिनभन्दा लामो समयदेखि रूसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानहरूमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । जसका कारण रूसी सेना अगाडि बढ्ने गति कम भएको छ । यसैले पनि रूस वार्ताका लागि तयार भएको विश्व समुदायले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here