प्रस, वीरगंज, २१ फागुन/

साहित्यकारहरूको संस्था साहित्यिक चौतारी नेपाल नवौं वर्षमा प्रवेश गरेको छ ।

आठौं वार्षिकोत्सवको अवसरमा वीरगंजमा कृति विमोचन एवं रचनावाचन कार्यक्रम सम्पन्न भएको हो । संस्थाकी केन्द्रीय अध्यक्ष गीता भण्डारीको सभापतित्वमा सम्पन्न कृति विमोचन एवं रचनावाचन कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका लोक तथा साहित्य विधाका प्रमुख एवं साहित्यिक चौतारीका वरिष्ठ सल्लाहकार डा देवी नेपालले साहित्यको विकासका लागि चौतारीले गरेका कामहरू प्रशंसनीय रहेको बताए ।

देशमा मात्रै नभएर विदेशमा पनि शाखा विस्तार गरी साहित्यिक गतिविधिलाई गति मात्रै नदिएर निरन्तरता दिनुले साहित्यिक चौतारीको गरिमा अझै बढेको डा नेपालको भनाइ थियो ।

नयाँ पुस्तालाई अवसरसँगै प्रशिक्षण दिनेदेखि लिएर पुराना पुस्ताको ज्ञान र अनुभवको आधारमा साहित्यको विकास हुनेमा कुनै आशङ्का नरहेको डा नेपालले बताए । उनले सर्जकहरूलाई रचना पठाउन आग्रह गर्दै आफूले विभिन्न पुस्तकहरूमा स्थान दिने दृढता पनि व्यक्त गरे ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं वरिष्ठ साहित्यकार डा गणेश भट्टराईले साहित्यमार्फत परिवर्तनको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । अब बन्दुकले होइन कलम र शब्दको शक्तिलाई सदुपयोग गर्दै समाज परिवर्तनका लागि सृजना लेख्नुपर्ने उनले बताए ।

वरिष्ठ साहित्यकार रामदेव पाण्डेले पनि साहित्यतर्फ नयाँ पुस्ताको आकर्षणका कारण साहित्यको भविष्य सुरक्षित रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा साहित्यिक चौतारी नेपालको प्रकाश चौतारीको चौथो अङ्क, साहित्यिक चौतारी इजरायल शाखाको भावाक्षर, साहित्यिक चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण र साहित्यिक चौतारी मधेस प्रदेश समितिका अध्यक्ष समिर पाख्रिनको परिणति पुस्तक विमोचन गरिएको थियो ।

झरना साहित्य परिवार, मकवानपुरका अध्यक्ष एवं हेटौंडा क्याम्पसका सहप्राध्यापक दीपक गौतमले साहित्यिक चौतारीको कृतिको समीक्षा गरेका थिए । उनले समीक्षामार्फत उक्त पुस्तकले समावेश गरेका विषयवस्तुको संश्लेषण रूप प्रस्तुत गरेका थिए । त्यसैगरी, झरना साहित्य परिवार, मकवानपुरका उपाध्यक्ष एवं समालोचक विश्वनाथ सञ्जेलले चौतारीकी अध्यक्ष गीता भण्डारीको भावार्पण गजल सङ्ग्रहको समीक्षा गरेकी थिइन् ।

कार्यक्रममा अतिथि कलाकारको रूपमा पर्वतबाट तारानाथ पराजुलीले कवितावाचन गरेका थिए । यस्तै, प्रदेश नं १ बाट श्यामकुमार श्रेष्ठ, मधेस प्रदेशबाट साहित्यिक चौतारी मधेस प्रदेशका सचिव सूर्यनारायण विक शुभचिन्तक, गण्डकी प्रदेशबाट दुर्गा भुसाल, लुम्बिनी प्रदेशबाट शिरीष बन्जाडेले रचनावाचन गरेका थिए । यस्तै, स्थानीय साहित्यकारको रूपमा मोदिउर रहमान, अजमत अली, अनीता साह, महेशचन्द्र गौतमलगायतले रचनावाचन गरेका थिए ।

भोजपुरी साहित्यमा योगदान दिएको भन्दै नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार उमाशङ्कर द्विवेदीलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको साहित्यिक चौतारीका सचिव रोशन तिमल्सिनाले जानकारी दिए ।

३७ जना आजीवन सदस्य र आजै थपिएका दीपक गौतम र अप्सरा पुडासैनीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विदेशमा स्थापना भएको पहिलो शाखाको रूपमा इजरायल शाखा, क्रियाशील शाखाको रूपमा साउदी अरब र सबैभन्दा कम नेपाली भएको ठाउँमा पनि साहित्यिक गतिविधिसँगै सामाजिक काम पनि गरेको भन्दै ग्रीस शाखालाई सम्मान गरिएको थियो । साहित्यिक चौतारीकी कोषाध्यक्ष कमला भण्डारी ढकालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण साहित्यिक चौतारीका महासचिव रामप्रसाद सुवेदी सङ्कमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here