प्रस, सेढवा, २१ फागुन/
पटेर्वासुगौली गाउँपालिकाको सहयोग तथा समता समाज नेपाल, निचुटाको आयोजनामा सञ्चालित दोस्रो पटेर्वासुगौली गोल्डकपमा कालिका स्पोट्र्स एकेडेमी, चितवन सेमिफाइनलमा प्रवेश गरेको छ ।
चितवनले पटेर्वासुगौली गापा फूटबल टीमलाई एकका विरुद्ध तीन गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको तेस्रो मिनेटमा पटेर्वासुगौलीका धीरेन्द्र दासले एक गोल गरी टीमलाई अग्रता दिलाए भने चितवनका अन्तर्राष्ट्रिय खेलाडी सैयाद स्माइलले खेलको ३०औं मिनेटमा गोल फर्काइ खेल बराबरीमा ल्याएका थिए ।
चितवनका लागि अन्तर्राष्ट्रिय खेलाडी यमी र हरि कार्कीले थप एक/एक गोल गरी टीमलाई जीत दिलाएका थिए । आजको खेलमा पटेर्वासुगौलीका धीरेन्द्र दास ‘म्यान अफ दी म्याच’ घोषित
भए । उनलाई प्रमुख अथिति नेपाल रेडक्रस सोसाइटी, पर्साका पूर्वउपसभापति भागवत चौधरीले नगद १५ सयसहित ट्रफी प्रदान गरेका थिए ।
भोलिको खेल समता समाज नेपाल, निचुटा र भक्तपुर एफसीबीच हुने आयोजक समितिले जनाएको छ ।