प्रस, सिम्रौनगढ, २१ फागुन/
बाराको पचरौता नगरपालिका–२ पिपरपातीस्थित नेरा माविमा शनिवार दलित महासभा सम्पन्न भएको छ ।
महासभामा राष्ट्रिय अध्यक्ष हरिनन्दन रामले सयौं वर्षदेखि नेपालका दलितहरू गुलामीको जीवन बिताइरहेको बताए ।
उनले सबै राजनीतिक दलले दलितलाई प्रयोग मात्र गर्दै आएको आरोप लगाए । उनले दलितको मत लिएर जितेका गैरदलितहरूले दलितको हकहित दिलाउनेभन्दा उनीहरूलाई सताउने काम गर्दै आएको आरोप लगाए । सरकारमा दलितहरूको पहुँच नभएको चर्चा गर्दै अध्यक्ष रामले सबै सरकारी निकायमा दलितको पहुँच बढाउन आवश्यक भएको बताए । उनले दलितको सङ्ख्या बढी भएकाले राजनीति र सरकारी कार्यलयहरूमा पहुँच बढाउन जरुरी भएको बताए । सङ्ख्या पहिचान गरी दलितको प्रतिनिधित्व नबढाएसम्म हकअधिकारबाट वञ्चित हुनुपर्ने अवस्था रहिरहने उनले बताए ।
रामशरण हजराको अध्यक्षतामा भएको दलित महासभामा दलित केन्द्रीय वरिष्ठ नेता राजाराम पासवान, केन्द्रीय सदस्य जीतेन्द्र राम, दलित महासभा, सर्लाहीका अध्यक्ष भुपेन्द्र राम, नेता सन्देश रामलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मेघराज पासवानले सञ्चालन गरेको कार्यक्रममा स्वागत सन्देश रामले गरेका थिए ।
दलित महासभामा स्थानीय कवि/गायक राजन रसियाले गीतको माध्यमबाट आगामी स्थानीय निर्वाचनमा आफ्नो मतलाई पैसा, रक्सी र मासुमा बिक्री नगरी असल जनप्रतिनिधि रोज्नका लागि प्रयोग गर्न सुझाएका थिए ।