प्रस, वीरगंज, २० फागुन/

नेपाली काङ्ग्रेस, पर्साको सभापतिमा जनार्दनसिंह क्षत्री विजयी भएका छन् । शुक्रवार बिहान आएको मतपरिणामबाट उनले निकटतम प्रतिद्वन्द्वी श्याम पटेललाई ४६५ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

क्षत्रीले एक हजार ११० मत पाए भने पटेलले ६४५ मत पाएका थिए । एक हजार ८१७ मतदातामध्ये बिहीवार रातिसम्म भएको मतदानमा एक हजार ७७८ जना सहभागी थिए । नेका, पर्सा जिल्ला कार्यसमितिको सम्पूर्ण पदाधिकारीमा क्षत्रीको प्यानल विजयी भएको छ ।

उपसभापतिमा रामनारायण कुर्मीले एक हजार २३५ मत र अर्का उपसभापति अशोककुमार गुप्ताले एक हजार १०२ मत ल्याएर विजयी भए । उनीहरूका प्रतिद्वन्द्वी डा कृपासिन्धु चौधरीले ५८५ र राजुकुमार गुप्ताले ४८२ मत ल्याएका थिए ।

सचिवमा क्षत्री प्यानलकै इम्तियाज आलमले एक हजार १०७ र दिनेशकुमार चौधरीले एक हजार १५९ मत ल्याएर विजयी भए । उनीहरूका प्रतिद्वन्द्वी विश्वराज घिमिरेले ४६५ र वीरेन्द्र यादवले ५९७ मत ल्याए ।

सहसचिवमा क्षत्री प्यानलकै नवीनकुमार सिंहले एक हजार २५३ र मदनराउत अहिरले एक हजार १११ मत पाएर विजयी भए । उनीहरूका प्रतिद्वन्द्वी लुकमान अन्सारीले ४५१ र दीलिपराज कार्कीले ५८२ मत पाए ।

निर्वाचित पदाधिकारीहरूलाई नेकाका राहुल गुप्तालगायतले फूलमाला लगाएर स्वागत गरेका
थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here