ब्रसेल्स, १३ फागुन/सिन्ह्वा

उत्तर एटलान्टिक सन्धी सङ्गठन (नेटो)ले युक्रेनभित्र सेना नपठाउने भएको छ। सो कुराको जानकारी नेटोका महासचिवले बिहीवार दिएका हुन्। उनले दिएको जानकारी अनुसार नेटोले आफ्ना सेनाहरू स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुर्ई शहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो।

बिहीवार बसेको नेटोको आपत्कालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिएका हुन्। उनले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिएको समाचारमा जनाइएको छ।

साथै सो बैठकले रूसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रूसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ। सो बैठकपछि भनिएको छ– हामीले रूसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौं र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौं।

रूसले बिहीवारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ। युक्रेनका कैयौं शहरमा रूसी सेनाले हवाई हमला गरिरहेको बताइएको छ।

युक्रेनमा आक्रमणपछि अमेरिकाद्वारा रूसमा थप प्रतिबन्धको घोषणा

वाशिङ्टन/सिन्ह्वा

रूसले बिहीवार युक्रेनमा हमला गरेपछि अमेरिकाले रूसमाथि थप प्रतिबन्धहरूको घोषणा गरेको बताइएको छ। यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका हुन्। उनले बिहीवार ह्वाइट हाउसमा सो नयाँ प्रतिबन्धहरूको घोषणा गरेको समाचारमा जनाइएको छ।

रूसले गर्न सक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्ने गरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन्। रूसले युक्रेनमाथि आक्रमण गरिरहँदा त्यसको विरोधमा रूसमैं पनि हजारौं नागरिक सडकमा ओर्लिएको त्यहाँको एउटा स्वतन्त्र मानव अधिकार समूहले जनाएको छ।

रूसले केही महीनाको प्रयासपछि बिहीवार युक्रेनमा हमला गरेको थियो। सैन्य हमलामा परी युक्रेनको राजधानीलगायतका शहरमा केही नागरिकको ज्यान पनि गएको छ। सो हमलापछि राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायत कैयौं मुख्य शहरमा प्रदर्शनहरू भए। ती प्रदर्शनमा परेर अहिलेसम्म एक हजार ७०० जनालाई पक्राउ गरिएको छ।

रूसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो। रूसले गरेको सो आक्रमणका विरुद्धमा रूसी राजधानीमा नै युद्धविरोधी नाराहरू लेखिएका प्लेकार्डसहित हजारौं मानिस सडकमा आएका थिए।

रूसी शहरमा मात्र नभएर विश्वका अन्य कैयौं शहरमा पनि युद्धको विरोधमा प्रदर्शन भएका छन्। ती प्रदर्शनहरूमा रूसले युक्रेनमा गरेको हमलाको विरोध गरिएको छ।

चीन र रूसका विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ/सिन्ह्वा

चीनका विदेशमन्त्री वाङ यी र रूसका विदेशमन्त्री सेर्गेई लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ। उनीहरूका बीचमा बिहीवार फोनवार्ता भएको छ। बिहीवार नै रूसले युक्रेनमा सैन्य हमला थालेको थियो।

त्यसपछि बिहीवार राति उनीहरूका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ। सो फोनवार्ताका क्रममा रूसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रूसले गरेको हमलाको बारेमा जानकारी गराएका थिए।

रूसले बिहीवारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ। युक्रेनका कैयौं शहरमा रूसको सेनाले हवाई हमला गरिरहेको बताइएको छ। सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरङ्गका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ।

युक्रेनका विदेशमन्त्रीद्वारा कीभमा रूसी रकेट आक्रमणको निन्दा

कीभ/एएफपी

युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रवार बिहान राजधानी कीभलाई हल्लाउने भयानक रकेट आक्रमणको निन्दा गरेका छन्। “भयानक रूसी रकेटले कीभमा आक्रमण ग–यो,” कुलेबाले ट्वीट गर्दै भनेका छन्।  “हाम्रो राजधानीलाई पछिल्लोपटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अनुभव भएको थियो,” उनले थप जानकारी दिए।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरू गरिएको बिहीवार बिहान घोषणा गरेका थिए। टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रूसको आत्मरक्षाका लागि भएको दाबी गरेका छन्।

आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्व–दक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्वको क्राइमियालाई रूसमा गाभेको रूसले फेरि पूर्वी युक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो।

हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकूको नियन्त्रण छ। यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

आइसिसीे युक्रेन सङ्कटबाट चिन्तित

द हेग/एएफपी

रूसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरूप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले शुक्रवार बताएका छन्।

“मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रमहरू नजीकबाट नियालेको छु,” खानले एक विज्ञप्तिमार्फत बताए। “यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गरोस्।”

“आइसिसीले आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र १४ फेबु्रअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ,” उनले दुवै पक्षलाई चेतावनी दिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here