काठमाडौं, १३ फागुन/रासस
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको जाउलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जाउलाखेल र सङ्कटाले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। जावलाखेलका लागि सुनील खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए।
खेलको १४औं मिनेटमा सुनील खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन्। त्यस्तै, खेलको ६१औं मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए। सङ्कटाले लिगमा १३ खेलबाट तीन जीत, सात बराबरी र तीन हारसहित १६ अङ्क जोड्यो। यता जावलाखेलले १३ खेलबाट तीन जीत, पाँच बराबरी र पाँच हारसहित १४ अङ्क जोड्यो।
थ्री स्टार र ब्रिगेड ब्वाइजको बराबरी
त्यसैगरी, सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै भएको अर्काे खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ।
खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लियो। खेलको ५६औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए। त्यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एक/एक गोलको बराबरीमा सकियो। यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ। ब्रिगेड व्वाइजले १३ खेलमा आठ अङ्क जोड्यो। यस सिजनको लिगमा ब्रिगेड ब्वाइज रेलिगेशनमा परेको छ।