सुग्रीव साह, भिस्वा, १२ फागुन/
छिपहरमाई गाउँपालिकामा नेपाली काङ्ग्रेसको अधिवेशन सम्पन्न भएको छ । भिस्वामा आयोजित अधिवेशनले धुरेन्द्र साह कानूको सभापतित्वमा ३२ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ ।
गाउँ कार्यसमितिको उपसभापति रवीन्द्र यादव, शैलेन्द्र श्रीवास्तव, सचिव रूपेश उपाध्याय, अशोक महतो, सहसचिव सुरेश कुशवाहा, गणेश साह कानूलगायत सदस्यहरू छन् ।
यसैगरी, पकाहामैनपुर गाउँपालिकामा पनि नेपाली काङ्ग्रेसको गाउँ अधिवेशन सर्वसम्मतबाट सम्पन्न भएको छ । हरिहरप्रसाद चौहानको सभापतित्वमा ३२ सदस्यीय गाउँ कार्यसमिति चयन भएको हो । उपसभापति रामबहादुर सोनार, जटिल हुसेन, सचिव रामनाथ तेली, त्रिलोकी पाण्डे, सहसचिव शिवनारायण चौधरी र दीपक वर्णवाललगायत सदस्यहरू छन् ।
यसैगरी जगरनाथपुर गाउँपालिकामा निर्विरोध कार्यसमिति चयन भएको छ । बिहारी महतो नुनिया सभापति रहेको कार्यसमितिमा उपसभापतिद्वय वीरेन्द्र महतो नुनिया र विश्वम्भरराउत अहिर, सचिवद्वय ओमकार यादव र हलिम मियाँ अन्सारी, सहसचिवद्वय कमरेड राउत गद्दी, आसमन राउत गद्दीलगायत ३७ सदस्यीय गापा कार्यसमिति निर्विरोध निर्वाचित भएको मतदान अधिकृत विनोद मेहताले जानकारी गराए ।
गाउँ/नगर अधिवेशनको लागि फागुन १२ गते उम्मेदवारी दर्ता, १३ गते दाबी विरोध र १४ गते मतदानको कार्यतालिका रहेको छ । जस अन्तर्गत पर्साका चौधवटा पालिकामध्ये केही पालिकामा निर्विरोध नेकाको पालिकास्तरीय कार्यसमिति निर्वाचित भइरहेको छ भने केही पालिकामा मतदानबाट समिति चयन गर्ने प्रक्रिया अघि बढेको छ ।
यसैगरी, कालिकामाई गाउँपालिकामा छठु साह तेलीको सभापतित्वमा ३२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उपसभापति रजाकराउत गद्दी, मोजालिम मियाँ मन्सुरी, सचिव महम्मद नासिर हुसैन, रमानन्द ठाकुर लोहार र सहसचिव जयकुमार साहलगायत सदस्यहरू रहेका छन् ।
चिरञ्जीवी सापकोटा, ठोरी/
ठोरी गाउँपालिकामा भने सहमति हुन नसक्दा फागुन १४ गते शनिवार निर्वाचन हुने भएको छ । आज र भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा आज एक पक्षले उम्मेदवारी दर्ता गराएको छ । निर्वाचन अधिकृत रामबालक यादवले सभापति पदमा रामकृष्ण पन्तको उम्मेदवार परेको बताए ।
यसैगरी, उपसभापतिमा बाबुराम लोप्चन, टेकबहादुर बस्नेत, सहसचिवमा रमेशप्रसाद पौडेल, डेमा लामालगायत नौजना सदस्यको उम्मेदवारी परेको जानकारी गराएका छन् । अर्को सन्तोष श्रेष्ठको प्यानलले भने भोलि शुक्रवार उम्मेदवारी दर्ता गराउने महाधिवेशन प्रतिनिधि प्रकाश खनालले बताए ।
३२ पदका लागि शनिवार राष्ट्रिय आधारभूत विद्यालय निर्मलबस्तीमा मतदान हुने निर्वाचन अधिकृत यादवले बताए ।
महानगर र नगरमा उम्मेदवारी दर्ता भएन
नेपाली काङ्ग्रेस, पर्साको वीरगंज महानगर र तीनवटा नगरपालिकामा बिहीवार कसैले पनि उम्मेदवारी दर्ता गराएनन् । निर्वाचन तालिका अनुसार शुक्रवार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोले सो अवधिसम्म सहमतिको प्रयासका लागि कसैले पनि उम्मेदवारी दर्ता नगराएको बताइएको छ ।
वीरगंज महानगरमा पार्टी कार्यालयमा उम्मेदवारी दर्ताको लागि आज निर्वाचन अधिकृतहरू कुरेर बसे तर कसैले पनि उम्मेदवारी दर्ता गराएनन् । महानगर सभापतिका लागि आकाङ्क्षीहरूबीच सहमतिको प्रयास गरिएको छैन । कुनै पनि उम्मेदवार सहमतिमा आउन नचाहेकाले प्रयास नगरिएको हो । जिल्ला सभापतिको लागि भने सहमतिको प्रयास जारी छ ।
यता, पर्सागढी, बहुदरमाई र पोखरिया नगरपालिकामा पनि नगर सभापतिको लागि कसैको उम्मेदवारी परेन । यहाँ पनि भोलि दिउँसो एक बजेसम्म समयसीमा रहेकोले सहमतिको प्रयास भइरहेको कारण आज कसैले पनि उम्मेदवारी दर्ता गराएनन् ।