काठमाडौं, १२ फागुन/रासस

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमारसहितको प्रतिनिधिमण्डलले बिहीवार शिष्टाचार भेट गरेको छ।

सो अवसरमा उनीहरूबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ। नेपालसँग भएको जलविद्युत् आपसी सहकार्यबाट प्रयोगमा ल्याएर आपसी आवश्यकता परिपूर्ति गरेर आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिंदै मन्त्री भुसालले उत्पादन तथा व्यापारमा सहज सहकार्य आवश्यकता औंल्याइन्।

उनले भनिन्, “हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ। त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ।” ऊर्जा सहकार्यबारे थप प्रस्ट पार्दै मन्त्री भुसालले भनिन्, “पहिले हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ। यहाँबाट दुवै देशको विकासका लागि मदत पुग्छ र दोस्रो तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ। यस अर्थमा सचिवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु।”

भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकी मुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

सो अवसरमा भारतीय ऊर्जा सचिव कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन आफूहरू सकारात्मक रहेको जनाउँदै उनले भने, “भारत,  बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी सकारात्मक छौं।”

काठमाडौंमा जारी बैठकले सफल नतीजा दिने आशा व्यक्त गर्दै उनले भने, “मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौं।” सचिव आलोकले अरुण तेस्रो तीव्र गतिमा अगाडि बढेको जनाउँदै भने, “मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु, यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ।”

बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारीको सहभागिता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्च अधिकारीको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here