किभ, ११ फागुन/सिन्ह्वा
युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रूससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन् । उनले मङ्गलवार भने–“मलाई लाग्छ रूससँग त्यत्रो द्वन्द्व हुने छैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुने छैन ।”
उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्शल ल लगाउने पनि उनले जनाएका छन् । त्यहाँ हुन सक्ने विद्रोहबारे टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने मार्शल ल लगाउने उनले बताएका हुन् ।
पछिल्लो समय युक्रेनमा रूसले आक्रमण गर्न सक्ने भन्दै त्यसको विश्वव्यापीरूपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रूसले ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको बताइएको
छ । तर रूसले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।
अमेरिका, बेलायतलगायत पश्चिमा देशहरूले भने रूसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् ।
त्यस्तै यी लगायत अरू पश्चिमा देशहरूले पनि यदि रूसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रूसमाथि प्रतिबन्धहरू लगाउने तयारी गरिरहेको बताएका छन् । रासस