प्रस, वीरगंज, १० फागुन/
सशस्त्र प्रहरीले वीरगंजका विभिन्न स्थानबाट भन्सार छलीका करीब १८ लाख मूल्यबराबरको सामान बरामद गरी वीरगंज भन्सार चलान गरेको सशस्त्र प्रहरी बल १३ नं गण हेडक्वार्टरका सूचना अधिकारी सन्तोष बस्नेतले बताएका छन् ।
सूचना अधिकारी बस्नेतले फागुन ८ गते राति ८ बजे सशस्त्र प्रहरी बल बिओपी वीरगंजका सप्रनि हरिसिंह विष्टको नेतृत्वमा वीरगंज महानगर–२० हरपतगंज अपौनीस्थित गोदाममा छापामारी गरेको र त्यहाँबाट भन्सार छलीका भेलभेट कपडा, सुती, नेट सारी र सर्टिङ–सर्टिड्ढा १६ लाख २३ हजारको सामान बरामद भएको बताए । उनले गोदाममा २४ वटा पोकामा ती सामानहरू राखिएको र आवश्यक कारबाईको लागि वीरगंज भन्सार चलान गरिएको बताए ।
यसैगरी, फागुन ८ गते राति ९ः३० बजे वीरगंज महानगर–२ डम्पिङ साइटमा सशस्त्र प्रहरी बल श्रीसियाका सशस्त्र प्रहरी निरीक्षक अगमबहादुर राई नेतृत्वको टोलीले भन्सार छलीका १ लाख ४० हजार मूल्य बराबरको टेन्टको कपडा, किराना सामान, विभिन्न औषधि बरामद गरेको र वीरगंज भन्सार चलान गरिएको सूचना अधिकारी बस्नेतले बताए ।
फागुन ९ गते सशस्त्र प्रहरी बल अलौं बिओपीले ६२ हजार बराबरको इलेक्ट्रोनिक तथा मोटरपाट्र्स भन्सार चलान गरिएको सूचना अधिकारी बस्नेतले बताए । तीनवटै घटनामा कोही पनि व्यक्ति पक्राउ परेका छैनन् ।
यसैबीच, वीरगंज जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले वीरगंज महानगर–१० रानीघाटबाट १९० बोरा चामल बरामद गरेको छ । भन्सार छली भित्रिएको भारतीय चामल १९० बोरा बरामद गरेको र वीरगंज भन्सार कार्यालय बुझाउने जिप्रका, पर्साले जनाएको छ ।