काठमाडौं, ९ फागुन/रासस

आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो । जीतसँगै नेपाल समूह ‘बी’को विजेता बनेको छ । ८१ रनको विजयी लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालका लागि प्रारम्भिक ब्याट्स्म्यान कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान दिए । भुर्तेलले ३७ बल खेल्ने क्रममा तीन चौकासमेत प्रहार गरे ।

यस्तै, दीपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रन बनाउँदै अविजित रहे भने आशिफ शेखले १७ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नाजरले एक/एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो ।

क्यानडाका डिलोन हेलिगरले अविजित रहँदै २४ रनको योगदान दिए । कप्तान नवनीत धालिवालले १८, रायन पठानले १४ तथा सलमान नाजरले १० रन बनाए ।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । उनी प्लेयर अफ दी म्याचसमेत भए । यस्तै, अविनाश बोहरा र कमलसिंह ऐरीले दुई/दुई तथा कुशल मल्लले एक विकेट लिए । जीतसँगै तीन खेलमा छ अङ्क जोड्दै नेपाल समूह विजेता बन्यो ।

यस्तै, ओमान तीन खेलबाट चार अङ्ग जोडेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । क्यानडा र फिलिपिन्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब नेपालले मङ्गलवार सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ । यस्तै, अर्को मङ्गलवार नै सेमिफाइनल ओमान र आयरल्यान्डबीच
हुनेछ । फाइनल प्रवेश गर्ने दुवै टोली अस्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here