काठमाडौं, ८ फागुन/रासस

अधिकांश सरकारी संस्थान एकपछि अर्काे गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ ।

राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने पछिल्लो उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ ।

उपलब्ध भएको स्रोतको समुचित प्रयोग, उपभोक्ताप्रतिको जिम्मेवारी भए कुनै पनि जटिल कामलाई पनि सरलरूपमा अगाडि बढाउन सकिदो रहेछ भन्ने पनि स्पष्ट भएको छ । प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो छ महीनामा रु १२ अर्ब १२ करोड नाफा कमाएको
छ । प्राधिकरणको वित्तीय विवरण
(अपरिष्कृत) अनुसार गत आव २०७७/७८ मा मात्रै रु छ अर्ब १८ करोड नाफा गरेको थियो । चालू आवको पहिलो छ महीनामा नै नाफा बढेर दोब्बर भएको हो ।

योसँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी जस्ता कारणले संस्थाको आर्थिक स्वास्थ्यमा गुणात्मक फड्को मारेको प्रतिक्रिया दिए । उनले विद्युत् बिक्रीमा वृद्धि, अन्य आयमा वृद्धिका कारण पनि चालू आवको छ महीनामा संस्थाले उल्लेख्य नाफा आर्जन गर्न सफल भएको बताए । कार्यकारी निर्देशक घिसिङले भने, “सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम नै हाम्रालागि वरदान साबित भएको छ ।”

यस्तै, ४५६ मेगावाटको माथिल्लो तामाकोशीसँगको विद्युत् खरीद दर अन्य निजी क्षेत्रका आयोजनाको तुलनामा केही सस्तो हुनु पनि नाफा बढ्नुको अर्काे महŒवपूर्ण कारण हो । यस्तै, हिमाल पावरले सञ्चालन गरेको ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत हिस्सासमेत प्राधिकरणको नाममा आएको छ । सो आयोजनाको बिजुलीको खरीद मूल्य पनि असाध्यै सस्तो छ । “गत पुसबाट लागू हुने गरी उपभोक्ता महसूल समायोजन भएको छ, यसबाट चालू आवको बाँकी अवधिमा आम्दानी केही घट्ने हुँदा नाफामा प्रभाव पर्न सक्छ तर चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी नाफालाई १५ अर्ब कटाउने गरी काम गरिरहेका छौं,” उनले भने । प्राधिकरणले आव २०७३/७४ मा रु एक अर्ब ५० करोड, आव २०७४/७५ मा रु दुई अर्ब ८४ करोड, आव २०७५/७६ मा रु नौ अर्ब ८१ करोड, आव २०७६/७७ मा रु १३ अर्ब २७ करोड, २०७७/७८ मा रु छ अर्ब एक करोड नाफा गरेको थियो ।

प्राधिकरणले चालू आवको छ महीनामा रु ४७ अर्ब ९८ करोड आम्दानी गरेको छ । यस्तै, रु ३५ अर्ब ८६ करोड खर्च गरेको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरीदमा हुने गरेको छ । प्राधिकरणको विदेशी दातृ निकायको दीर्घकालीन ऋण रु एक खर्ब १४ अर्ब पुगेको छ । नेपाल सरकारसँगको दीर्घकालीन ऋण रु ८१ अर्ब ८१ करोडको रहेको छ भने कर्मचारीतर्फको दीर्घकालीन दायित्व रु ३६ अर्ब ८४ करोड छ । प्राधिकरणको पूँजीकृत सम्पत्ति रु एक खर्ब ६५ अर्ब छ । यस्तै, पूँजीकृत हुन बाँकी सम्पत्ति रु एक खर्ब ५२ अर्ब, सहायक कम्पनीमा लगानी रु ३५ अर्ब ३४ करोड र ऋण लगानी रु ३२ अर्ब ५० करोड रहेको छ । यस्तै, तरल पूँजी रु ८५ अर्ब एक करोड बराबर छ ।

विद्युत निर्यात बढ्यो, आयात घट्यो

अघिल्ला वर्षको तुलनामा चालू आवको छ महीनामा नेपालमा खपत भएर बढिरहेको विद्युत् भारतर्फ निर्यात बढेको छ । यस्तै, अपुग विद्युत्को आयातको परिमाण घटेको छ । गत आवमा रु ३१ करोड ६० लाखको विद्युत् भारततर्फ निर्यात भएकोमा चालू आवको छ महीनामैं रु ८० करोड ५० लाखको विद्युत् निर्यात गरिएको छ । ऊर्जाका आधारमा गत आवमा चार करोड ४० लाख युनिट निर्यात भएकोमा यस वर्ष छ महीनामैं बढेर १७ करोड ३० लाख युनिट पुगेको छ ।

आव २०७६/७७ मा रु १३ अर्ब ४२ करोडको विद्युत् आयात भएकोमा गत आवमा बढेर रु २१ अर्ब ८२ करोड पुगेको थियो । तर चालू आवको छ महीनामा रु दुर्ई अर्ब ५८ करोडको मात्र विद्युत् आयात भएको छ । माघ, फागुनमा आयात केही बढ्ने भए तापनि यस वर्ष रु १० अर्बभन्दा बढीको आयात नहुने देखिएको कार्यकारी निर्देशक घिसिङले बताए । यस वर्ष अघिल्लो वर्षको तुलनामा करीब २०० मेगावाट विद्युत् माग बढेको छ । कुल ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करीब ६६० मेगावाट विद्युत् प्रणालीमा थपिएको छ ।

विद्युत चुहावट १४.४५ प्रतिशतमा झ¥यो

चालू आवको छ महीनामा विद्युत् चुहावट १४.४५ प्रतिशतमा झरेको छ । नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको पहिलो छ महीनामा २.७३ प्रतिशत बिन्दुले घटाएर १४.४५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।

विद्युत् प्रसारण र वितरणतर्फसहित चालू आवको छ महीनामा चुहावट १४.४५ प्रतिशतमा झरेको हो । प्रणालीमा हुने चुहावटमध्ये सबैभन्दा बढी हिस्सा वितरणतर्फको हुन्छ । यस अवधिमा वितरणतर्फको चुहावट ९.२३ प्रतिशत छ । प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

चुहावट घटेकाले आम्दानी बढ्दा त्यसको परिणामस्वरूप प्राधिकरणको नाफा बढेको कार्यकारी निर्देशक घिसिड्ढो भनाइ छ । उनले चुहावट नियन्त्रण अभियान प्रभावकारीरूपमा चलाइएको, सबस्टेशनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदम चाल्दाको परिणाम चुहावट नियन्त्रणमा देखिएको उल्लेख गरे ।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसूल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाई गर्र्ने, मिटर रिसिलिङ गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइरहेको छ । यसबाट सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकायको रूपमा प्राधिकरण स्थापित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here