काठमाडौं, ७ फागुन/रासस

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फूटबल खेलाडीलाई जस्तै नियम उल्लङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।

निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फूटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक रहने भएको हुँदा त्यसलार्ई समयमैं महसूस गर्न दल र उम्मेदवारलाई आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “निर्वाचन फूटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रूपमा मैदानमा आउनुहुन्छ । आयोग रेफ्रीको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी)ले नियम उल्लङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नुपर्ने हुन्छ ।” फल्ट भए/नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, “हामी चाहन्छौं, कसैले कसैलाई फल्ट ग¥यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस् ।”

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रूपमा लिएर काम गर्न सुझाव दिंदै तपाईंले दिंदै आएको परीक्षाभन्दा योपटकको निर्वाचनका जिम्मेवारी फरक छ, यो परीक्षामा असफल हुने छुट तपाईं हामी कसैलाई छैन बताए । उनले भने, “एकै चरणमा सबै स्थानीय तहमा निर्वाचन हुँदा स्वाभाविक कामको चटारो हामीलाई छ, अहिले थोरै समयमा धेरै गर्नुपर्ने हुन्छ, निर्वाचन परीक्षा भएकाले उत्कृष्ट अङ्क ल्याएर सफल हुनैपर्छ ।”

आफैं निर्देशित भएर काम गर्नुस्

निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले सबै पक्षको सहमति सुनिश्चित गर्दै समन्वय र सहकार्यको खाँचो औंल्याए । निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनलाई सहजरूपमा सफल तुल्याउन सामूहिक दायित्वका रूपमा बुझेर काम गर्न आवश्यक रहेको बताए ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले स्वच्छ, निष्पक्ष, भयमुक्त विश्वासिलो र मितव्ययी निर्वाचन गर्ने आयोगको पुनित जिम्मेवारीलाई हामी सबैले अवसरका रूपमा लिएर पूरा गर्नुपर्छ भने ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले निर्वाचनमा बेरुजू नआउने गरी काम गर्न र जिल्लामा निर्वाचनको वातावरण सिर्जना गर्न सुझाव दिए । निर्वाचन दिवसको मूल नारा ‘निर्वाचनमा सबै, सधैं सँगै’ भन्ने रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here