प्रस, वीरगंज, ५ फागुन/

जन्तीमा आएका एकजना भारतीय नागरिकको गएराति मृत्यु भएपछि प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

कालिकामाई गाउँपालिका–१ तीनडोबिया निवासी कमल पटेलको छोरीको बिहेमा भारत, बेतियाको शिवपुरी सतवरियाबाट जन्ती आएको थियो । अत्यधिक मदिरासेवनबाट  शिवपुरी सतवरिया निवासी वकील पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनामा संलग्न रहेको आशङ्कामा प्रहरी चौकी भिस्वाले भारत, बेतियाको शिवपुरी सतवरिया निवासी कन्हैया पटेल, ओमप्रकाश साह, सिकेन्द्र पटेल, सोनकुमार पटेल, विनय पटेल, पिन्टु पटेल, अर्जुन पटेल, इन्द्रजीत पटेल, निपु पटेल, सिटु पटेल र राहुल पटेललाई पक्राउ गरी कारबाईको लागि इलाका प्रहरी कार्यालय, पोखरियाको जिम्मा लगाएको छ ।

जन्तीमा अत्यधिक मदिरासेवन गरी नाचगान गर्ने क्रममा वकील बेहोश भएका थिए । सोही क्रममा उनको मृत्यु भएको प्रहरीको अनुमान छ । शव शल्यपरीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अचेत पटेलको सोही ठाउँमा मृत्यु भएपछि जन्तीले प्रहरीलाई खबर नगरी जन्तेहरूले बिआर२२जिए३४७० नम्बरको गाडीमा राखेर भारत लैजाने क्रममा भिस्वा प्रहरीले चेकजाँच गर्दा वकील मृत भेटिएको थियो ।

त्यसपछि प्रहरीले सो गाडीमा सवार ११ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी गराए । मृतकका छोरा पिन्टुलाई पनि प्रहरीले पक्राउ गरेको थियो तर शल्यपरीक्षणमा परिवारका सदस्य आवश्यक भएकोले छोरालगायत तीनजनालाई छोडेको छ ।

शल्यपरीक्षणपछि घटनाबारे सार्वजनिक गर्ने र मृतक वकीलको जीउमा कुनै चोटपटक नलागेका तथा अत्यधिक मदिरासेवनबाट वकीलको मृत्यु भएको हुन सक्ने प्रनि थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here