प्रस, वीरगंज, ४ फागुन/

नारायणी अस्पतालको हाताभित्र साझा औषधिपसल अवैधानिक तरीकाले सञ्चालनमा रहेको छ । स्वास्थ्य नियमावली अनुसार अस्पताल हाताभित्र कुनै पनि निजी वा साझेदारीमा औषधि पसल खोल्न नपाउने प्रावधान रहे तापनि अवैध तरीकाले साझा औषधिपसल सञ्चालनमा रहेको देखिन्छ ।

२०७० सालदेखि अस्पतालले साझा औषधिपसलसँग सम्झौता नगरेको र दादागिरी तरीकाले अहिले अस्पताल हाताभित्र औषधिपसल सञ्चालन गर्दै आएको बुझिएको छ । नेपाल सरकारको नियम अनुसार अस्पताल हाताभित्र रहेका सबै औषधिपसल हटाइएको छ । देशभरि रहेका सरकारी अस्पतालभित्र सञ्चालनमा रहेका साझा औषधिपसल हटाउने क्रम जारी रहेकामा अधिकांश अस्पतालबाट हटाइएको छ ।

नेपाल सरकारले अस्पताल हाताभित्र अन्य औषधिपसल हटाएर सुपथ मूल्यमा बिक्री औषधि बिक्री गर्न आफू मातहत पसल खोलेको देखिन्छ । नारायणी अस्पतालभित्र सञ्चालित साझा औषधिपसलको कारण अस्पतालले सञ्चालन गरेको फार्मेसीसमेत अप्ठयारोमा परेको देखिन्छ । २० वर्षदेखि सञ्चालित साझा औषधिपसलले अस्पताललाई बिक्रीको तीन प्रतिशत दिनुपर्ने सम्झौता भएको थियो तर २० वर्षदेखि साझा औषधिपसलले न भाडा तिरेको छ, न बिक्रीको तीन प्रतिशत दिएको छ, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले जानकारी दिए ।

मेसु प्रधानका अनुसार अनियमित तरीकाले सञ्चालनमा रहेको थाहा भए तापनि आपूmहरूले केही गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । साझाले उल्टै २०७२ सालदेखि ५१ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने भन्ने माग राख्दै आएको उनले बताए । यस विषयमा साझासँग अस्पतालले लिखित अडिट रिपोर्ट मागेको तर अहिलेसम्म बुझाएको छैन । आम्दानीको तीन प्रतिशत दिनुपर्नेमा अहिलेसम्म सो पनि तिरेको छैन ।

यस विषयमा साझा औषधिपसलका जिम्मेवारी व्यक्ति वरुणकुमार सिंहसँग बुझ्दा अस्पताल रहेसम्म आफूले सञ्चालन गर्ने बताए । सम्झौतापत्र माग गर्दा उनले दिन मानेनन् । अस्पतालसँग सम्झौतापत्र समेत नरहेको र विगतका सबै फाइल अख्तियारले लिएको कारण सो सम्बन्धमा के कति खर्च लिनुदिनु पर्नेसमेत तथ्याङ्क अस्पतालसँग छैन । अस्पतालका केही कर्मचारीले साझासँग मासिक रकम बुझ्ने गरेको स्रोतको दाबी छ । सोही कारण अहिलेसम्म अस्पताल हाताभित्र साझा औषधिपसल सञ्चालनमा रहेको स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here