प्रस, वीरगंज, ४ फागुन/

एमसिसीको विरुद्धमा छवटा कम्युनिस्ट घटक दलहरूले आह्वान गरेको नेपाल बन्दको वीरगंज आसपासमा आंशिक प्रभाव परेको छ । वीरगंज–पथलैया सडकखण्डमा सवारीसाधन निर्बाधरूपमा बिहानैदेखि चलेका थिए भने पूर्व–पश्चिम राजमार्गमा सवारीको चाप पातलिएको थियो ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)विरुद्ध आजको बन्दमा नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) सहभागी छन् ।

मधेसका जिल्लामा पार्टीका नेता, कार्यकर्ताको उपस्थिति कम भएकाले बन्दको आंशिक प्रभाव देखिएको हो । वीरगंज, कलैया, सिमरा, पथलैयाबाट गुड्ने लामो दूरीका सवारीसाधनका सङ्ख्यामा केही कमी देखिएको मधेस प्रदेश ट्राफिक कार्यालय, पथलैयाका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए ।

सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । जिल्लाको सुरक्षा कडा पारिएको समेत जिल्ला प्रहरी कार्यालय, बाराले बताएको छ । यता बन्दको कारण वीरगंजमा निजी तथा सरकारी विद्यालय बन्द भए तापनि पर्सा र बाराका ग्रामीण भेगका विद्यालयहरू सञ्चालन भएका थिए । उद्योग, कलकारखाना तथा बजार पनि खुल्ला रहेका थिए । पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले कानूनविपरीतका गतिविधि हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

यसैगरी एमसिसीको विरोधमा अखिल नेपाल पिछडावर्ग (ओबिसी)महासङ्घ र अनेरास्ववियुले प्रदर्शन गरेका छन् । बुधवार वीरगंज महानगरमा ओबिसी महासङ्घका केन्द्रीय उपाध्यक्ष्F तथा गापा अध्यक्ष अकलेश साह र अनेरास्ववियु पर्साका जिल्ला अध्यक्ष रेयाज अन्सारीको अध्यक्ष्Fतामा निकालिएको विरोध प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरिएको थियो ।

विरोध प्रदर्शनमा राजनसाह कानु, ठाकुर राम, आशिफ अहमद, प्रमोद मण्डल, सन्दीप महतो, भगवती अग्रवाल, अरुण कुशवाहालगायतको सहभागिता रहेको ओबिसीका जिल्ला सचिव भगवानप्रसाद पटेलले बताए ।

प्रस, रौतहट/

विभिन्न दलले एमसिसीको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण बुधवार रौतहटमा आंशिक प्रभाव परेको छ । बन्दका कारण लामो दूरीका सवारीसाधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन सञ्चालन भएका थिए ।

पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक सवारीसाधन चलेनन् तर चन्द्रनिगाहपुर–गौर सडकखण्डमा निजी सवारीसाधन र ट्रकहरू सञ्चालनमा आएका थिए । जिल्लाका चोकचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापकरूपमा परिचालन गरिएका कारण मानवीय तथा अन्य क्षति भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here