काठमाडौं, ३ फागुन/रासस

नेपालमा अझै पनि बिरामीमध्ये दुर्ई तिहाइ बालबालिका क्यान्सर रोगको उपचारबाट वञ्चित हुन पुगेको बताइएको छ । आर्थिक अभाव र जनचेतनाको कारणले सो सङ्ख्यामा क्यान्सर भएका बालबालिका उपचारबाट वञ्चित भएको बताइएको हो ।

कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले सबै अस्पतालमा आइपुग्ने सङ्ख्या जोड्दा अझै सो सङ्ख्यामा बालबालिका क्यान्सरको पूर्ण उपचारबाट वञ्चित रहेको बताए । अहिले एक तिहाइ मात्र उपचार गर्न आउँछन् । आज मङ्गलवार नेपालसहित विश्वभरि अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस मनाइँदै छ ।

धेरै अभिभावकमा आफ्ना बालबालिकामा हुने क्यान्सर उपचारबाट निको पार्न सकिन्छ भन्ने चेतनाको कमी रहेको उनले बताए । “क्यान्सरको उपचार खर्चालु छ, दुर्ई/तीन वर्ष उपचार गर्नुपर्दछ र औषधि महँगो छ भनेर धेरै अभिभावकले बालबालिकालाई उपचार गराउन ल्याउँदैनन्,” उनले भने, “अभिभावकलाई क्यान्सर रोग उपचार गरे निको हुन्छ र धेरै खर्च लाग्दैन भनेर चेतना जगाउनुपर्दछ ।”

सरकारले बालबालिकाको क्यान्सर उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निश्शुल्क गरेको छ । रु एक लाखसम्मको औषधि निश्शुल्क उपलब्ध गराउँदै आएको छ । उनका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावको कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् ।

नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेकामा तीमध्ये एक हजार ५०० बालबालिका रहने गरेका छन् । बालबालिकालाई रक्त, मस्तिष्क, रक्त ग्रन्थी (लिम्फोमा), आँखा र मिर्गाैलाका ट्युमर जस्ता क्यान्सर लाग्ने गरेका छन् ।

नेपालमा बालबालिकाको क्यान्सरको उपचार कान्ति बाल अस्पतालसँगै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताललगायतमा हुन्छ । कान्तिमा गत वर्ष २०० जना बाल क्यान्सरका बिरामीको उपचार भएको थियो । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल क्यान्सरसम्बन्धी विश्वव्यापी अभियानको फोकस राष्ट्रको रूपमा समेत सूचीकृत गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा विष्णुदत्त पौडेलले बाल–क्यान्सर उपचार गरे ७० प्रतिशतलाई निको हुने बताउँछन् । क्यान्सरबाट जोगाउन बालबालिकाको उपचारमा पहुँच पु¥याउनुपर्छ । साथै उपचार केन्द्रलाई थप सुदृढीकरण गर्नु आवश्यक रहेको उनी बताउँछन् ।

पौडेलका अनुसार गत वर्ष भक्तपुर क्यान्सर अस्पतालमा एकदेखि चार वर्षसम्मका ४३, पाँच वर्षदेखि १४ वर्षसम्मका १६३ र १५ देखि १९ वर्षसम्मका २१४ जनाको उपचार भएको थियो । अस्पतालका निर्देशक डा पौडेलले बालिकाको पाठेघरमा हुने क्यान्सरको खोप लगाउन सके यो रोग नलाग्ने बताउँछन् ।

“अहिले हुने खानेले मात्र आफ्ना बालबालिकालाई पाठेघरमा हुने क्यान्सरको खोप लगाएका छन्,” उनले भने, “सरकारले नै बालबालिकालाई पाठेघरमा हुने क्यान्सरविरुद्ध खोप लगाउन सके धेरै बालबालिका क्यान्सरबाट बच्न सक्ने थिए ।”

यस्तै, तिलगङ्गा आँखा अस्पतालका आँखारोग विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार बालबालिकाका आँखाको भित्री भागको पर्दाबाट पलाउने (रेटिनोब्लास्टो) क्यान्सर बढी हुने गरेको बताउँछिन् । पाँच वर्षमुनिका बालबालिकालाई यस्तो समस्या हुने उनको भनाइ छ । उनका अनुसार यस्तो रोग १५ हजार बालबालिकामध्ये एकजनामा
देखिन्छ । यसको ढिलो उपचार भएमा आँखाको सबै भागमा फैलिएर अन्धोपनजस्ता समस्या हुने भएकोले समयमा नै उपचार गर्नुपर्ने हुन्छ । तिलगङ्गामा वार्षिक ५० जना बालबालिकालाई रेटिनोब्लास्टो क्यान्सर हुने गरेको बताउँछिन् ।

यस्तै, पाटन अस्पतालका बालरोग तथा क्यान्सररोग विशेषज्ञ डा सुचारिका तुलाधरले अस्पतालमा दुर्ई वर्षदेखि बाल क्यान्सरको उपचार गर्न थालिएको जानकारी दिइन् । अस्पतालमा ३० जनासम्म बाल क्यान्सर बिरामीको उपचार गरिएको छ ।

कान्ति बाल अस्पतालले बाल क्यान्सरको उपचारमा संलग्न नर्सिङ स्टाफलाई तालीम दिएको छ । अस्पतालका नर्सिङ निरीक्षक इन्दु अधिकारी बस्नेत र स्टार्फ नर्स वन्दना अधिकारीले भारतको क्रिश्चियन मेडिकल कलेजबाट तीन महीनाको बाल क्यान्सरसम्बन्धी तालीम लिएका छन् । “यो रोगबारे जनेचतना जगाउने तथा बेलैमा उपचारका लागि अस्पताल पुग्न सके समस्या समाधान सहज हुनेछ,” नर्सिङ निरीक्षक बस्नेत भन्छिन् ।

अस्पतालका निर्देशक डा रायमाझीले अस्पतालमा बालबालिकाको क्यान्सर वार्डका लागि पाँच शøयाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) स्थापना गर्ने तयारी गरिएको जानकारी दिए । नेपालले सन् २०३० सम्ममा बाल क्यान्सररोगीमध्ये ६० प्रतिशतलाई पूर्ण निको बनाउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here