किभ, २ फागुन/एएनआई
युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतवार रूसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्काे ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका
छन् ।
ट्वीटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रूसले भियना कागजात अन्तर्गत कीभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् ।
हामी रूस र सबै सहभागी राष्ट्रहरूसँग यसको सुदृढीकरणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं । पछिल्ला केही महीनाहरूमा पश्चिम र युक्रेनले रसियालाई आक्रमणको कथित तयारीमा युक्रेनी सीमानजीकै सेना निर्माण गरेको आरोप लगाएका छन् ।
मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार भनिरहेको छ कि कसैलाई धम्की दिइएको छैन । तर मस्कोले रूसी सिमानानजीक नेटोको सैन्य गतिविधिबारे भने कडा चिन्ता व्यक्त गरेको छ ।
रूसले नेटोका यस्ता गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा मानेको छ ।
अर्काेतिर मस्कोले पनि रूसलाई आफ्नो राष्ट्रिय क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ । रासस
अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता
कीभ/सिन्ह्वा
अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनवार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उनीहरूका बीचमा आइतवार फोनवार्ता भएको समाचारमा जनाइएको छ ।
यस विषयमा कुराकानी गर्नका लागि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेको ह्वाइट हाउसले जानकारी दिएको छ । रूसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ । अमेरिकाले रूसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला शुरू गर्न सक्ने जनाएको छ ।
यही कारण दर्शाएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् । समाचार स्रोतहरूले अमेरिकाले कीभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन् । तर सो समाचारको स्वतन्त्ररूपमा पुष्टि हुन भने सकेको छैन ।
यसअघिदेखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशहरूले पनि युक्रेनबाट आफ्ना कर्मचारीहरू फिर्ता लगेका छन् । उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रूसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको पनि समाचारमा जनाइएको छ ।
आइतवार भएको दुई देशका राष्ट्रपतिबीचको फोनवार्तामा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको हो ।
युक्रेनस्थित जापानी दूतावासका कर्मचारीले देश छाड्ने
टोकियो/एएनआई
जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीलाई फिर्ता लगिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै युक्रेन छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
कीभस्थित जापानी दूतावासले आइतवार आफ्ना अधिकांश कर्मचारीले युक्रेन छाड्ने बताएको छ । सीमानजीक मस्कोको सैन्य निर्माणपछि सम्भावित रूसी आक्रमणलाई लिएर तनाव द्रुत गतिमा बढिरहेको छ ।
जापानी समाचार एजेन्सीका अनुसार शुक्रवार युक्रेनमा रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न सल्लाह दिइएको दूतावासले पठाएको इमेलमा उल्लेख गरिएको छ । केही कर्मचारीहरू मात्र युक्रेनमा रहने भएकाले सोमवारदेखि यसको काम थप सीमित हुनेछ ।
यसैबीच, धेरै देशले युक्रेनबाट सेना फिर्ता गर्न थालेका छन् र नागरिकहरूलाई जतिसक्दो चाँडो देश छोड्न आग्रह गरेका छन् ।
वाशिङ्टनले केही अमेरिकी सेनालाई युक्रेनबाट बाहिर सारेको छ र शनिवार आफ्ना दूतावासका अधिकांश कर्मचारीलाई बाहिरिन आदेश दिएको छ । रासस