सुषमा शर्मा, वीरगंज, १ फागुन/
नारायणी अस्पतालभित्रै स्वास्थ्यकर्मीले जन्मदिन, वैवाहिक वर्षगाँठलगायतका कार्यक्रमहरू आयोजना गर्ने गरेका छन् ।
अस्पतालका विभिन्न वार्डमा यस प्रकारका गतिविधिहरू अहिले बढ्दो छ । भर्खरै एकजना स्वास्थ्यकर्मीलाई विवाहपूर्व बिदाइ गरियो । ‘ब्राइड टु बी’को संज्ञा दिंदै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरूले उनलाई विवाहको शुभकामना दिएका
थिए ।
नारायणी अस्पतालको आइसियूमा एकजना स्वास्थ्यकर्मीको जन्मदिन मनाइयो । अस्पतालभित्रै यस्ता घटनाहरू प्रायः हुँदै आएका छन् । अस्पतालभित्रै यस प्रकारका गतिविधि निषेध भएपनि स्वास्थ्यकर्मीहरूले पालना गरेका छैनन् ।
एनआइसियूजस्तो संवेदनशील वार्डमा यस प्रकारका गतिविधि सुहाउँदो नभएको स्वयम्ण् चिकित्सकहरू बताउँछन् । नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले अस्पतालभित्रका वार्डहरूमा यस प्रकारका गतिविधि नगर्न बारम्बार चेतावनी दिएको र अब कारबाई गर्ने बताए । उनले सामाजिक सञ्जालहरूमा यस्ता गतिविधिहरू भएको देखेपछि आफूले सम्बन्धित वार्डका प्रमुखलाई सो कार्य रोक्न सुझाव दिएको तर अटेर गरेको पाइएकाले आगामी दिनमा त्यस्ता गतिविधि गर्नेविरुद्ध कारबाई गर्ने चेतावनी दिए ।
डा राकेश सिंहले पनि यस प्रकारका कार्यक्रम गर्न नहुने बताए । उनले कर्मचारीहरूले आफ्नो खुशियालीमा कार्यक्रम गर्दा अस्पतालको सभाहलको प्रयोग गर्नुपर्ने र त्यसको लागि पनि मेडिकल सुपरिटेन्डेन्टको इजाजत लिनुपर्ने बताए । उनले अस्पतालका वार्डहरू बिरामीहरूको लागि भएको र उनीहरूलाई असर पर्ने कुनै पनि गतिविधि गर्न नहुने बताए ।
स्वास्थ्यकर्मीले यसको ख्याल राख्नुपर्ने उनको सुझाव छ । यस्ता कार्यक्रम गर्दा अस्पतालको पोशाक लगाउनु झनै ठूलो अपराध भएको उनले बताए । व्यक्तिगत कार्यक्रमहरू निषेधित क्षेत्रमा नगरी अन्य क्षेत्रमा गर्दा पनि अस्पतालको पोशाक प्रयोग गर्न नहुने उनले बताए ।
नारायणी अस्पतालको गाइनो वार्डमा सबैभन्दा बढी यस प्रकारका कार्यक्रमहरू हुने गरेका छन् । सो वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरूले तीजको दर पनि खाने र नाचगान गर्ने गरेका छन् । अन्य वार्डहरूमा भने जन्मदिन मनाउने, वैवाहिक वर्षगाँठ मनाउने र हालका दिनमा बेहुली बन्नुपूर्वको बिदाइ कार्यक्रम पनि हुँदै आएका छन् ।