काठमाडौं, १ फागुन/रासस
कार्यक्षमतामाथि प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी आफ्नो पदको कार्यसम्पादन गर्नबाट वञ्चित भएका छन् ।
महाभियोगको कारबाई प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाईको टुङ्गो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने संवैधानिक व्यवस्था छ । यसको अर्थ निलम्बन सरह हो ।
सत्तारूढ दलका सांसदहरूले आइतवार सिंहदरबारस्थित संसद् सचिवालयमा नेपालको संविधानको धारा, १०१ बमोजिम सो प्रस्ताव दर्ता गरेका हुन । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।
उक्त धारामा ‘संविधान र कानूनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वाेच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीविरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्ने’ व्यवस्था छ । प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुर्ई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ ।
महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिश गर्ने प्रयोजनका लागि प्रतिनिधिसभामा एक महाभियोग सिफारिश समिति रहनेछ । समितिमा प्रतिनिधिसभाका एघारजना सदस्य रहनेछन् । धारा, १०१ को उपधारा (२) बमोजिम महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लङ्घन गरेको वा कार्यक्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको वा आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी प्रतिनिधिसभाका कम्तीमा तीनजना सदस्यले प्रमाणित गरी पेश गरेमा धारा, १०१ को उपधारा (३) बमोजिमको समितिले त्यस्तो उजुरीमाथि सङ्घीय कानूनबमोजिम छानबीन गरी महाभियोगसम्बन्धी कारबाईका लागि प्रतिनिधिसभासमक्ष सिफारिश गरेमा महाभियोगको प्रस्ताव पेश हुन सक्नेछ ।
महाभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मनासिव मौका पाउनेछ । महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन सक्नेछैन ।
सो प्रस्तावको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का देवप्रसाद गुरुङ, नेपाली काङ्ग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ, समर्थकमा नेपाली काङ्ग्रेसका डा मीनेन्द्र रिजालसहित ९८ जना सांसद रहेका छन् ।
सचिवालयका सहप्रवक्ता दशरथ धमलाले उक्त प्रस्तावलाई सभामुखसमक्ष पेश गरिने र सम्भवतः सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर छलफल गरेपछि थप प्रक्रियाको आधार तय हुनेछ ।
कामु प्रन्यामा वरिष्ठतम् न्यायाधीश कार्की
प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका छन् ।
सत्तारूढ दलका सांसदहरूले उक्त प्रस्ताव आइतवार बिहान सिंहदरबारस्थित सचिवालयमा दर्ता गराएपछि उनी स्वतः कायममुकायम प्रधानन्यायाधीश भएका
हुन् ।